एमाले बागलुङ अध्यक्षमा तीनजना आकांक्षी

पाेखरा न्यूज । नेकपा एमाले जिल्ला कमिटी बागलुङको आगमी नेतृत्वको लागि तीनजनाले आकांक्षा व्यक्त गर्नुभएकाे छ ।

एमाले जिल्ला कमिटीका कार्यबाहक अध्यक्ष कृष्ण पाठक, गण्डकी प्रदेश कमिटी सदस्य हीराबहादुर केसी र प्रदेश कमिटी सदस्य ममतादेवी शर्माले अध्यक्षको दाबी प्रस्तुत गर्नुभएकाे हाे ।

तीनैजना आकांक्षीले पार्टी सदस्य वृद्धि, संगठन विस्तार, पार्टी कार्यालय निर्माण, तीनै तहका निर्वाचनमा पार्टीलाई विजय बनाउने आधार, नयाँ रोजगारी सृजना, उत्पादन वृद्धि तथा आप्रवासीलाई घर फर्काउने मुद्दा प्रस्तुत गर्नुभएकाे छ ।

एमालेले २३ र २४ पुसमा देशैभर एक साथ जिल्ला अधिवेशन गर्दैछ । अधिवेशनको मिति नजिकिँदै गर्दा अध्यक्षका आकांक्षीहरू प्रतिनिधि भेटघाटमा व्यक्त छन् । यद्यपि तीनैजना आकांक्षीले सर्वसम्मतको प्रयास जारी रहेको उल्लेख गर्दै आउनु भएकाे छ ।

जिल्लामा अधिवेशनको सरगर्मी ह्वात्तै बढेको छ । नेतृत्व तथा पदाधिकारी र सदस्यमा आकांक्षीहरू प्रचार प्रसारमा जुटेका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी प्रस्तुत गर्दै प्रतिनिधिसँग भोटको अपिल गरेका छन् ।

कार्यबाहक अध्यक्ष पाठकले आफू प्राकृतिक रूपमै अध्यक्षको उम्मेदवार हुने बताउनु भयाे । दुई आकांक्षी प्रदेश कमिटीको जिम्मेवारीमा रहेको उल्लेख गर्दै उहाँले आफ्नो नाममा सहमति हुनेमा आसा व्यक्त गर्नुभयाे । ‘म युवा, बुढापाका सबै नेता कमरेडहरूसँग काम गरेको छु’ उहाँले भन्नुभयाे, ‘सबैलाई मिलाएर जाने, पार्टी संगठनलाई मजबुत बनाउनका लागि म सक्षम छु ।’

अध्यक्षका अर्का आकांक्षी हीराबहादुर केसीले वैदेशिक रोजगारमा रहेको पाँच सय युवालाई स्वदेशमा फिर्ता गरी सीपअनुसारको रोजगारमा आबद्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयाे । केसीले जिल्लाव्यापी रूपमा पार्टी सदस्यको संख्यामा व्यापक वृद्धि गर्ने महत्वाकांक्षी योजना प्रस्तुत गर्नुभएकाे छ । केसीले १२ हजार संगठित सदस्य तथा ६२ हजार पार्टी सदस्य वृद्धि गर्ने बताउनु भयाे । एमाले जिल्ला कमिटीमा साढे पाँच हजार पार्टी संगठित सदस्य छन् ।

अध्यक्षका आकांक्षी ममतादेवी शर्माले पनि बीस हजार पार्टी सदस्यता विस्तार, पार्टी कार्यालय निर्माण, जनसंगठन चुस्तदुरुस्त बनाउँदै पार्टीलाई पहिलो शक्तिको रूपमा विकास गर्ने योजना प्रस्तुत गर्नुभएकाे छ । महिला नेतृत्व स्थापित गर्न आफ्नो उम्मेदवारी हुने उहाँको भनाइ छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button