पोखरामा दोस्रो टाइगर कप भलिबल प्रतियोगिता शुरु

उद्घाटन खेलमा पुलिस क्लब विजयी

पोखरा न्यूज । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा दोस्रो टाइगर कप आमन्त्रित भलिबल प्रतियोगिता सोमबारबाट पोखरामा शुरु भएको छ ।

माघ १ गते सम्म पोखरा रङ्गशालामा सञ्चालन हुने प्रतियोगितामा पहिलो दिन पुरुष र महिलातर्फ गरी चार खेल सम्पन्न भएका छन् । आज सम्पन्न उद्घाटन खेलमा पुरुषतर्फ नेपाल पुलिस क्लबले टिप–टप हेल्प नेपाललाई ३–२ ले पराजित गरेको छ ।

भारतीय ३ जना खेलाडी सम्मिलित हेल्प नेपालले पहिलो सेट २५–१६ ले, दोस्रो सेट ३१–२९ ले जित्दै नेपाल पुलिसलाई दबाबमा राखेको थियो । तर नेपाल पुलिसले पछिल्ला तिन सेटमा खेलमा फर्किँदै राउण्ड रोविन लिगको पहिलो खेल आफ्नो पक्षमा पार्न सफल भएको छ । पुलिसले तेस्रो, चौथो र पाँचौँ सेट २५–१९, २५–२३ र १७–१५ ले जितेको थियो । उक्त खेलमा हेल्प नेपालका भारतीय खेलाडी अमित म्यान अफ दि म्याच र नेपाल पुलिसका भीम राना मगर उत्कृष्ट डिफेन्डर घोषित भएका छन् ।

यसै गरी पुरुषतर्फको एक अर्को खेलमा डिफेन्डिङ च्याम्पियन समेत रहेको गण्डकी प्रदेश विजयी भएको छ । गण्डकीले सशस्त्र प्रहरीवल (एपिएफ) क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पहिलो सेट २५–१७ ले जितेको गण्डकीले दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१७ ले आफ्नो पक्षमा पार्न सफल भयो । उक्त खेलमा गण्डकीका हिमाल सुनारी मगर म्यान अफ दि म्याच हुँदै नगद ५ हजार हात पारेका छन् भने एफिएफका विनोद चन्द उत्कृष्ट डिफेन्डर घोषित भएका छन् ।

यस्तै महिलातर्फको खेलमा होवाङ्ग्जी न्यू डायमन्ड र सशस्त्र प्रहरीवल (एपिएफ) क्लब विजयी भएका छन् । न्यू डायमन्डले नेपाल आर्मीलाई ३–१ को सेटमा पराजित गरेको हो भने सशस्त्रले नेपाल पुलिसलाई ३–१ सेटमा नै पराजित गरेको थियो । न्यू डायमन्डले केही विदेशी खेलाडीका साथ मैदानमा आर्मीलाई खेलमा पहिलो सेटबाट नै दबाबमा राख्दै २५–१७, दोस्रो सेट २५–२२ ले जित्दा तेस्रो सेट भने २५–१३ ले गुमाउन पुगेको थियो । तर चौथो सेटमा २५–१७ ले खेलमा फर्किँदै डायमन्ड विजयी बन्यो । उक्त खेलमा न्यू डायमन्डकी प्रतिभा माली म्यान अफ दि म्याच भइन् भने आर्मीकी सलिना श्रेष्ठ उत्कृष्ट डिफेन्डर भइन् ।

यस्तै एपिएफले आफ्नो चिर परिचित प्रतिद्वन्द्वी नेपाल पुलिसलाई ३–१ को सेटमा पराजित गरेको छ । पहिलो दुई सेट २६–२४ र २५–१८ ले जितेको एफिएफले तेस्रो सेट भने २३–२५ ले गुमाउन पुग्यो । तर चौथो सेटमा एपिएफले २५–२३ ले जित्दै अंक बटुल्न सफल भएको छ । उक्त खेलमा एपिएफकी सरस्वती चौधरी म्यान अफ दि म्याच भइन् भने नेपाल पुलिसकी शान्तिकला तामाङ उत्कृष्ट डिफेन्डर भएकी छन् ।

यस अघि प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरालाई खेलकुदको हबको रूपमा विकास गर्ने बताए । उनले पोखरा सँगै प्रदेशको समृद्धि खेलकुद र पर्यटनको विकास बाट नै सम्भव भएको जनाउँदै गण्डकी प्रदेश सरकारले यसतर्फ विशेष ध्यान दिने उल्लेख गरे ।

कार्यक्रममा गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश कुमार गुरुङ, प्रदेश खेलकुदका सदस्य सचिव तेज बहादुर गुरुङ लगायत विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रतियोगिता आयोजक संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले सबै सहयोगीहरू प्रति आभार प्रकट गरे । उनले प्रतियोगिताको मुख्य प्रायोजक सुश्री मिडिया प्रालि, गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगर पालिका लगायत देश विदेशमा रहेका भलिबल प्रेमीहरूको सहयोगले नै प्रतियोगिता आयोजना सफल रूपमा अघि बढेको बताउँदै कोभिड १९लाई मध्यनजर गर्दै दर्शकहरूलाई स्वास्थ्यका मापदण्ड पालना गर्दै खेल अवलोकन गर्न आग्रह गरे ।

माघ १ गते सम्म राउण्ड रोविन लिगको आधारमा सञ्चालन भएको प्रतियोगितामा महिला र पुरुष गरी १० टिमको सहभागिता छ । प्रतियोगितामा महिला तर्फ विभागीय टिमहरूमा नेपाल आर्मी क्लब, नेपाल पुलिस र सशस्त्र प्रहरी बल, न्यू डायमन्ड र आयोजक संस्था टाइगर ग्रुप अफ पोखरा नेपाल रहको छ । आयोजकको टिममा नेपाल महिला भलिबलकी क्याप्टेन अरुणा शाहीको नेतृत्वमा श्रीलङ्का महिला भलिबलका क्याप्टेन सहित ३ जना खेलाडीहरूको सहभागिता रहेको छ । त्यस्तै पुरुषतर्फ गण्डकी प्रदेश, विभागीय टिमहरू नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीवल, टिप टप हेल्प नेपाल स्पोर्टस क्लबको टिम रहेका छन् ।

प्रतियोगिताको उपाधि विजेता महिला/पुरुष उपाधि विजेता टिमलाई समान नगद रु. ३/३ लाख, उपविजेता महिला/पुरुष टिमलाई समान नगद रु. १ लाख ५० हजार, तेस्रो हुने महिला/पुरुष टिमलाई समान नगद रु. ७५ हजार र सान्त्वना हुने महिला/पुरुष टिमलाई नगद ३५ हजार प्रदान गर्ने आयोजकले जनाएको छ । यसै गरी महिला तथा पुरुष तर्फ उत्कृष्ट एक–एक खेलाडीलाई समान नगद रु. २५/२५ हजार तथा हरेक विद्याका उत्कृष्ट खेलाडीहरूलाई नगद जनही नगद १०/१० हजार सहित र ट्रफीद्वारा सम्मान गरिनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button