पोखरामा एकैदिन थप १६६ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा २१३ संक्रमित थपिए

पाेखरा न्यूज । पोखरामा  आइतबार एकैदिन १६६  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा  पोखरामा भएको पिसिआर परीक्षणबाट १६० जनामा तथा  एन्टिजेन परीक्षणबाट ६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा भएको पिसिआर परीक्षणमा ८६ जनामा तथा पोखराको निजि प्रयोगशाला लाइफकेयरमा भएको  पिसिआर परीक्षणमा ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्य कार्यालय कास्कीमा गरिएको एन्टिजेन परीक्षणमा थप ६ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै पिसिआर परीक्षण गर्दा धवलागिरी अस्पताल बाग्लुङमा  तीन जनामा र  भरतपुर अस्पताल चितवनमा १२ जनामा  कोरोना पुष्टि भएको छ । एन्टिजेन परीक्षणबाट स्याङजामा १८ जना, लमजुङमा १२ जना तथा तनहुँ र म्याग्दीमा १/१ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा २१३ जनामा कोरोना पुष्टि भएसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ८९ हजार ६ सय ५१ पुगेको छ । गण्डकी प्रदेशमा सक्रिय संक्रमितको संख्या एक हजार १५४ रहेको छ ।

guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्

सम्बन्धित खबर

Back to top button