पोखरा न्यूज । जिल्ला प्रशासन कार्यालय कास्कीले विभिन्न सेवा व्यवसायमा पूर्ण रूपमा रोक लगाउँदै आजदेखि लागू हुने गरी कोरोना संक्रमण रोकथाम आदेश जारी गरेको छ ।
गृह मन्त्रालयको निर्देशन तथा जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रको आज ३ गतेको बैठकको निर्णय समेतका आधारमा सोमबारदेखि जिल्ला भरी लागू हुने गरी कोरोना संक्रमण रोकथाम आदेश जारी भएको प्रमुख जिल्ला अधिकारी जयनारायण आर्चायले जानकारी दिनुभयो ।
कास्की जिल्लामा कोरोना संक्रमणको दर ५० प्रतिशत माथि पुगेको भन्दै माघ १५ गतेसम्म सिनेमा हल, पार्टी प्यालेस, नाचघर, क्लब, डान्स बार, दोहोरी साँझ, जिम खाना, फिटनेस सेन्टर, स्पा, स्विमिङ पुल, ब्युटी पार्लर लगायतका भिडभाड हुने सेवा एवम् स्थलहरू खोल्न तथा सञ्चालन गर्न रोक लगाइएको छ ।
त्यस्तै शैक्षिक संस्थाहरू लगायत भौतिक रूपमा उपस्थित भएर सञ्चालन हुने ट्युसन सेन्टर तथा शैक्षिक क्रियाकलापहरूमा माघ १५ गतेसम्म निषेध गरिएको छ।
प्रशासनले माघ महिनाभरको लागि सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार सञ्चालन गर्न, मानिस भेला हुन, भिडभाड गर्न, सभा जुलुस गर्न, जात्रा, महोत्सव गर्न तथा धार्मिक क्रियाकलापहरूमा नित्य पूजा, ध्यान र प्रार्थना बाहेकका क्रियाकलापमा निषेध गरेको छ ।
खेलकुदका गतिविधि गर्दा दर्शक नरहने गरी गराउन तथा दर्शक सहभागी हुने पूर्व निर्धारित खेलमा खोप कार्ड भएकाहरू मात्र प्रवेश हुने गरी कुल क्षमताको एक तिहाइ हुने गरी गर्नुपर्नेछ ।
त्यस्तै होटल तथा रेस्टुरेन्टहरूमा खोप कार्ड भएकाहरूलाई मात्र प्रवेश दिन तथा स्वास्थ्य मापदण्ड पूर्ण रूपमा पालना गरी कुल क्षमताको आधा संख्या भन्दा नहुने गरी सञ्चालन गर्न गराउन भनिएको छ । रेस्टुरेन्टहरूमा साङ्गीतिक कार्यक्रम सञ्चालन गर्न पाइने छैन भने राति १० बजेपछि रेस्टुरेन्ट बन्द गर्नुपर्नेछ ।
डिपार्टमेन्टल स्टोर्स, सपिङ मल, पसलहरू सञ्चालन गर्दा २५ जना भन्दा बढी भेला नहुने गरी गराउनुपर्ने छ । विवाह, व्रतबन्ध, पाठ पूजा, मृत्यु संस्कार आदीमा पनि २५ जना भन्दा बढी भेला हुन् बन्देज गरिएको छ ।
जिल्लाभर सार्वजनिक सेवा लिँदा कोभिड १९ विरुद्धको खोप लगाएको प्रमाण देखाउनुपर्ने छ ।
सार्वजनिक सवारी साधनमा यात्रुले अनिवार्य रूपमा मास्कको प्रयोग गर्नुपर्नेछ भने सिट क्षमता भन्दा बढी यात्रु बोक्न निषेध गरिएको छ ।
सवारीसाधनमा लामो दुरीको यात्रा गर्दा तथा हवाई जहाजबाट यात्रा गर्दा खोप कार्ड अथवा कोभिड नेगेटिभ भएको रिपोर्ट देखाउनुपर्ने छ ।
हेर्नुहोस् यस्तो छ आदेश :






