
पोखरा न्यूज । कास्की प्रहरीले अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका ३० पावरहाउस चोकबाट ३९ लाख मूल्य बराबरको अवैध सुनसहित बागलुङ नगरपालिका ७ का २० वर्षीय अम्मर विश्वकर्मा र म्याग्दी अन्नपूर्ण २ का २९ वर्षीय अङ्कित सुनार पक्राउ परेको कास्की प्रहरीले जनाएको छ ।
कास्कीमा अवैध रूपमा सुनको ओसार पसार भइरहेको भन्ने सूचनाको आधारमा सवारीसाधन चेक जाँच गर्ने क्रममा माघ १ गते २० तोला ४३ लाल ८ प्वाइन्ट बराबरको ३ थान सुनको सिक्रीसहित अम्मर पक्राउ परेको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुन्दर तिवारीले जानकारी दिनुभयो ।
डिएसपी सुन्दर तिवारीका अनुसार चेक जाँचकै क्रममा माघ ३ गते अंकित २१ तोला ९० लाल ३ प्वाइन्टका ५ थान सिक्री, १ थान औँठी र १ जोर रिङसहित पक्राउ परेका हुन् ।
उनीहरू दुवै जना काठमाण्डौबाट पोखरातर्फ आउँदै गरेको बसमा सुन लिएर आउँदै गर्दा पक्राउ परेका हुन् । बरामद भएको ९,२५५.४७ ग्राम सुनको बजार मूल्य ३८ लाख ९७ हजार ५४२ रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानको लागी राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको छ ।





