पोखरामा बन्दको प्रभाव : यातायात र बजार प्रभावित, शंकास्पद एक जना पक्राउ

पोखरा न्यूज । एमसिसी सम्झौताविरुद्ध ५ वटा कम्युनिस्ट पार्टी र एक मोर्चाले आज घोषणा गरेको नेपाल बन्दको प्रभाव पोखरामा पनि परेको छ ।

बन्दका कारण पोखरामा सार्वजनिक यातायातका साधनहरू कमै मात्रामा चलेका छन् भने निजी सवारीसाधन पनि फाटफुट रूपमा मात्र चलेका छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

पोखराका मुख्य बजार क्षेत्रका पसलहरू प्रायजसो बन्द रहेका छन् । भित्री सडक खण्डमा पसलहरू केही मात्रामा खुलेका छन् । मुख्य मुख्य चोकहरूमा बाक्लो रूपमा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

पोखरासहित कास्कीका एक दुई स्थानमा बिहानै बन्दकर्ताले टायर बालेर विरोध जनाएको भए पनि तत्कालै  आगो निभाएर टायर जलाउन रोक लगाइएको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुन्दर तिवारीले जानकारी दिनुभयो ।

जिल्लामा शान्ति सुरक्षाको अवस्थालाई बलियो पार्न ठाउँ ठाउँमा सुरक्षाकर्मी खटिएको र गस्ती समेत बढाइएको डिएसपी तिवारीले पोखरा न्यूजलाई बताउनुभयो ।

‘हामीले कास्की जिल्लाको सुरक्षा स्थिति मजबुत पारेका छौँ । लामो दुरीका २०/३० प्रतिशत सवारीसाधन चलेका छन्, छोटो दुरीका निजी सवारीसाधनहरू पनि चलेका छन् । बजारमा केही मात्रामा पसलहरू खुलेका छन्’, समग्रमा कास्कीको अवस्था सामान्य छ, ढुक्क भएर आफ्नो दिनचर्यामा लाग्न हाम्रो सर्वसाधारणमा अनुरोध छ’, डिएसपी तिवारीले भन्नुभयो।

बिहान ९ बजे सम्म कास्कीमा कुनैपनि घटना नघटेको र अवस्था शान्तिपूर्ण रहेको उहाँको भनाई छ । जिल्लामा बन्दका क्रममा शङ्कास्पद गतिविधि गर्ने एक जनालाई  नियन्त्रणमा लिइएको डिएसपी तिवारीले बताउनुभयो ।

गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा प्रदेश सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button