सत्य के, मिथ्या के ?

रविन ढकाल ।  यसै वर्ष निकै तामझामका साथ बजारमा मिथ्या  उपन्यास आइपुग्यो । हुन त परारै आउने भनेर घोषणा पनि भएको थियो क्यार । कोभिडको कारणले ढिला भयो होला । यो उपन्यासलाई पोखराका स्रष्टा दीपक पराजुलीले लेखेका हुन् । पराजुलीलाई हामीले कहिले रेडियो नाटकमा सुन्यौँ । कहिले थिएटरमा पनि हेर्‍यौँ । पेशाले कलेजका अध्यापक अनि वकिल समेत रहेका उनले ऐन(मौकामा समसामयिक राजनीतिकमाथि कठोर व्यङ्ग हान्दै लेखेका लेखहरू पनि पढ्यौँ ।  ती लेखहरूमा उनले प्रशस्तै तिलस्मी प्रसंगहरु बुनेका छन् । स्वैरकल्पनिक उपन्यास मिथ्या पनि त्यस्तै तिलस्मी प्रसंगहरुले भरिएको छ । उपन्यासमा उनको अचाक्ली उडान छ । आख्यानकार नयनराज पाण्डेको भुइँमा बुढि औँलाले भएपनि टेक्नुपर्छ भन्ने मान्यतामार्फत दृष्टि दिने हो भने मिथ्या उपन्यासको उडान कहालीलाग्दो नै छ । तर यो डरलाग्दो भने होइन । सही अर्थमा त्यो उडान अत्यन्त रोमाञ्चक छ । त्यसले नटेकेको भुईँ र औँलाबारे यकिन गर्न गाह्रो पर्छ । तथापि उपन्यास पढिसक्दा पाठकले आफ्नो अनुभूतिको परिधिभित्र भने मिथ्या उपन्यासको सार(सन्देशलाई समेटिएको पाउँदछ । किनभने मिथ्या जगत यथार्थ नभएता पनि त्यहाँका पात्रहरूको प्रवृत्ति अनि भाव हामीले भोग्दै आएको परिवेश सँग मिल्न जान्छ । त्यसैले पनि । सामाजिक यथार्थवादी आख्यान भनि दावि गरिएका कयौँ उपन्यासभन्दा उपल्लो दर्जाको यथार्थ मिथ्या उपन्यास दर्शित छ भनी पंक्तिकारले निर्धक्क भन्न सक्दछ ।

दुनियाँमा भ्रम व्याप्त छ । हामी भ्रममा बाँच्न चाहन्छौँ । भ्रमले ग्रस्त दुनियाँमा सत्य बलहिन बन्न पुगेको छ । त्यही भ्रम र यथार्थ दुनियाँसँगको ककटेल बनाएर प्रस्तुत गरिएको छ उपन्यासमा । शुरुमा उपन्यासको आधा अंश पढिसक्दा फेरि दोहोर्‍याएर पढ्नुपर्ने अवस्थाको सृजना भयो मलाई । तर यो दोहोर्‍याउने कामले सार्थकता पनि पायो । सामान्य पाठकका लागि यो पुस्तकले दिमागमा करेन्ट हान्ने नै छ । स्वैरकाल्पनिक शैलीमा लेखिएका पुस्तक अध्ययनमा अनुभव नगरेका पाठकका लागि मिथ्या माकुराको जालो जस्तै सुन्दर छ । किनभने उपन्यासका क्रम-उपक्रमहरू सामान्य लागे पनि त्यसको बुनोट जटिल छ ।

उपन्यासको केन्द्रीय पात्र मोहदत्र जसमाथि हत्याको वात लागेको छ । त्यो पात्र रहस्यमय छ । उसको खोजीमा उपन्यास जेरी झैँ जेलिएको छ । त्यसो त उपन्यासका पात्रहरूको नाम नै नौला छन् । ती आफैँमा चामत्कारिक एवं जादुयी लाग्दछन् । उपन्यासलाई विभिन्न दस्तावेज र उपकथाको श्रृङखलाले अगाडि बढाउँदछन् । उपन्यासको पात्र हाकिम र उसको ठालुपनले हाम्रै सरकारी कार्यालयका कर्मचारीहरूको झल्को दिन्छ । अर्को पात्र बर्बरिक जो सत्य र न्यायको पक्षमा लड्दालड्दै शाहदत्त प्राप्त गरेको क्रान्तिकारीको रूपमा चित्रित भएको छ । प्रेम गरेबापत सजाय पाएर रुखमा बन्धक भएकी श्रापित यक्षणी, प्रिय मान्छे गुमाएर पनि आफ्नै दुनियाँमा रमाउन सक्ने तोरणघाटको बूढो माझी, सुन्दरेको सांगीतिक संसार, अज्ञानानन्दको अज्ञानताको आत्मघोषणा, भगीरथको क्रान्तिकारी आदर्श अनि उसको पिताको व्यावहारिक विचारसँग भएको टकराव, तान्त्रिकको कठोर साधना, विष्णुनुभुति भ्रमत्तर सेवन गरी यौनाकर्षणमा चुर्लुम्म डुबेर उत्रन नसकेको विरु, भुलभुलैया र अस्तित्वको निस्सारताले भरिपूर्ण अव्यक्तहिन प्रेमगाथा, अरूलाई खोज्दै जाँदा समयक्रममा आफूलाई नै बिर्सिएको सापेक्ष लगायत उपन्यासमा थुप्रै पात्रहरू देखापर्ने र विलीन हुने गर्छन् । यस्तै दस्तावेज र उपकथाको सयर गर्दै जाँदा कतिपय ठाउँमा उपन्यास पढ्दै छु या कुनै पौराणिक ग्रन्थ भन्ने द्विविधा उत्पन्न गराउँछ । यसको उदाहरण हो दस्तावेज नं। २, जहाँ श्रापित यक्षणीको कथा, पाप(धर्मको सवाल, स्वर्ग, नर्क, ईन्द्र, श्राप जोडिएको छ । सँगै बुनिएको स्वस्थानीको झल्को दिने अर्को कथा छ, व्यास ( गणेश संवाद हुँदै गर्दाको प्रसंग छ, गणेशको हातबाट कलम झर्न गई रोमाञ्चक तरिकाले बादर-काग हुँदै फिनीक्स चरासम्म पुग्छ । चराको चुच्चोबाट कलम मक्किएर अनन्त आकाशबाट विश्वका अनेक स्थानमा टुक्रा झर्दै जान्छन्, जहाँ जहाँ कलमका टुक्राहरू झर्दै जान्छन् त्यहाँ विभिन्न विद्वानहरूले अनेकौँ दर्शन, इतिहास लेख्छन् रच्छन् । यो प्रसंगले लेखकको वैचारिक शक्ति निकै ओजपूर्ण छ भन्ने देखाउँछ । प्रसंगहरुले सारा संसारका ज्ञान केन्द्रको फन्को लगाउँदछन् ।

मिथ्या जगतमा मिथ्या नै यत्रतत्र सर्वत्र छ । त्यहाँको कथा, प्रहरी, प्रकाशन, नगर, मार्ट सबै मिथ्या छन् । उपन्यासमा निरोले बाँसुरी बजाउँदैन । सुन्दरेले हार्पिन बजाउँछ, बाहिर पोखरा जलिरहन्छ । कतिपय विषयवस्तुमाथि लेखकले हाम्रो समाजको तितो यथार्थ पस्केका छन् । समयक्रममा घटित हुने स्वभाविक दुर्घटनामा पनि देशी विदेशी चलखेल देख्ने र एक अर्कामा दोषारोपण गर्ने प्रवृत्तिको चिरफार गरेको पाइन्छ । साथै उचित सम्मान पाउन र प्रसिद्धिका लागि मर्नैपर्ने मिथ्या जगत् कता कता हामी बाँचेको परिवेशसँग मिल्न जान्छ । कतिपय मिथ्या दृश्यहरू यस्ता छन् कि छिनमै हाँसो लाग्छ अनि छिनमै उदेक लाग्छ । कथा क्रममा कुनै पात्र क्रान्तिकारी बनेर भित्रन्छ, कुनै कलाकार, कुनै जोगी कुनै भोगी त कुनै प्रेमिल जोडीको रूपमा।।।। अनेक पात्रहरू अनेक भूमिकामा रहस्यका पोका फुकाउँदै देखिँदै लोप हुँदै गर्छन् । पात्रहरू अचानक जन्मिनु, बेपत्ता हुनु, आत्महत्या गर्नु, मृत्यु हुनु सामान्य मानिन्छ । हाकिमको मृत्यु पश्चात् अकस्मात् मौसममा आएको फेरबदल अन्तिममा हत्यारा मोहदत्तको खोजीमा हिँडेको सापेक्ष मोहदत्तकै स्वरूपमा बदलिन पुग्छ र निर्ममतापूर्वक मारिन्छ । तब जगत् मिथ्याको वातावरणमा पुनः सुधार आई पहिलेकै अवस्थामा फर्किन्छ । मिथ्या जगतमा कथाको पात्र प्रस्तुतिमा मिथक घुसेता पनि यसका अधिकांश ठाउँहरू पोखरा आसपासका छन् । लेखक पोखरेली हुनाले पनि यो प्रभाव पर्न गएको मान्न सकिन्छ । पोखराको सेरोफेरोमा अधिकांश पात्रहरू सयर गरिरहन्छन् । पुस्तक पढ्दै गर्दा पाठकलाई पोखरा थप प्रिय, रहस्यमय, उत्सुकता जगाउने लाग्नेछ । उपन्यासमा भावनाप्रधान अर्थात् भावनात्मक मिठासपन निकै कम छ । यसको अर्को अर्थ के पनि हो भने उपन्यासमा लेखकले आँसुको व्यापार गरेका छैनन् । लेखक कल्पनाशीलताको अन्तरिक्षमा रकेटको गति लिएर उडान भरेका छन् । प्रयोगवादी र जटिल लेखन शैली रुचाउने बौद्धिक पाठकका लागि मिथ्या नेपाली साहित्यिक आकाशको सुन्दर उपहार हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button