महिलामैत्री कानुन निर्माणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा

पोखरा न्यूज । गण्डकी प्रदेश सरकारका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले महिलामैत्री कानुन निर्माणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

मंगलबार ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा पोखरामा रेडियो जननीले आयोजना गरेको “व्यवसायमा महिला, अवसर र चुनौती” विषयक अन्तरक्रिया कार्यक्रमलाई उद्घाटन गर्दै उहाँले यस्तो भन्नुभएको हो ।

मन्त्री थापाले समाजमा महिलाहरूलाई हेर्ने दृष्टिकोणमा बिस्तारै परिवर्तन हुँदै आएको उल्लेख गर्नुभयो । व्यावसायिक, राजनीतिक, शैक्षिक र सामाजिक क्षेत्रमा महिलाहरूको सहभागिता उल्लेखनीय रहेको भनाई उहाँको छ ।

उहाँले गण्डकी प्रदेश सरकारले स्तन क्यान्सर र पाठेघर क्यान्सरको निःशुल्क उपचार गर्ने निर्णय गरेको जानकारी गराउनुभयो ।

क्यान्सर पीडितका लागि नेपाल सरकारले एक लाख र गण्डकी प्रदेश सरकारले ५० हजार उपलब्ध गराउँदै आएको मन्त्री थापाले बताउनुभयो ।

उहाँले व्यावसायिक क्षेत्रमा महिलाहरूको आकर्षण बढाउन प्रदेश सरकारले सहज नीति निर्माण गर्दै आइरहेको बताउनुभयो ।

मन्त्री थापाले प्रदेश सरकारले कोभिड प्रभावित व्यावसायिक क्षेत्रलाई ब्याज सरकारले नै तिर्ने गरी कर्जा उपलब्ध गराउन लागेको बताउनुभयो । यसका लागि चालू आर्थिक वर्षको जीवन रक्षा कोषमा एक अर्ब रुपैयाँ राखिएको भनाई उहाँको छ ।

सामाजिक, राजनीतिक, प्रशासनिक, सांस्कृतिक क्षेत्रमा महिला पुरुषमा देखिएको विभेदको अन्त्य गर्न सम्बद्ध सङ्घसंस्थाले महिला जागरण सम्बन्धी तालिम समय समयमा गरी राख्नुपर्ने मन्त्री थापाले बताउनुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले नेपालको जनगणनाअनुसार ३७ प्रतिशत महिलाहरूले मात्र रोजगारी पाएको बताउनुभयो ।

महिलाहरू आफै नै जाग्नुपर्ने आवश्यकतालाई उहाँले औँल्याउनुभएको छ । पर्यटन व्यवसायी लक्की कार्की क्षेत्रीले महिलाहरूलाई सुरक्षित वातावरण बनाउनुपर्ने बताउनुभयो ।

महिलाका अधिकार र मुद्दाहरूलाई सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रममा रेडियोकी संस्थापक अध्यक्ष हिरा भट्टराईलाई जननी सम्मानद्वारा सम्मान गरिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button