बुलिङटारमा गण्डकी प्रदेशका मुख्यमन्त्री

पोखरा न्यूज । कालीगण्डकीको किनारमा रहे पनि विकासमा निकै पछि परेको नवलपुरको बुलिङटारका कतिपय गाउँमा अहिले पनि बिजुली पुगेको छैन । खानेपानी र सिँचाइको पनि उस्तै समस्या छ । सदरमुकाम कावासोती पुग्न पनि निकै कष्ट झेल्नुपर्छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल मंगलबार बुलिङटारका ५ वटा कार्यक्रममा सहभागी हुनुभयो ।

उहाँले त्यहाका जनता सामु गण्डकी सरकार नवलपुरको पहाडी भेगको विकासका लागि प्रतिबद्ध रहेको भनाइ राख्नुभयो ।

कालीगण्डकी करिडोरको निर्माण धमाधम भइरहेको र अब दक्षिणी भेग जोड्ने सडकको निर्माण पनि सुरु भइसकेको मुख्यमन्त्री पोखरेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘विगतमा के भए छाडिदिनुस्, अब नवलपुरको पहाडी भेगमा विकासको मुल फुटेको छ, तपाईँहरू ढुक्क हुनुहोस् ।’

बिजुली नपुगेका बुलिङटारका गाउँमा विद्युतीकरणका लागि ठेक्का लागिसकेको भन्दै उहाँले केही महिनामा सबै घरमा केन्द्रीय प्रसारणको बिजुली बल्ने ठोकुवा गर्नुभयो ।

कालीगण्डकीको पानी प्रयोग गरेर बुलिङटारको फाँटमा अब छिटै नै सिँचाइ सुविधा पु¥याइने उहाँले बताउनुभयो ।

बुलिङटार मात्र नभई नवलपुरको पहाडी भेगको भौतिक पूर्वाधार विकास र शैक्षिक, राजनीतिक एवं सामाजिक क्षेत्रमा दामोदर बस्ताकोटीको योगदान अतुलनीय रहेको भनाइ मुख्यमन्त्रीको थियो ।

अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा उहाँले नेपालको संविधानले महिला हकका बारेमा धेरै विषय उल्लेख गरे पनि अब ती प्रावधानलाई कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभयो ।

उक्त अवसरमा जिल्ला समन्वय समिति संयोजक चेसराम आलेले प्रशस्त सम्भावना भएर पनि बुलिङटार विकासमा पछि परेको भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

भारतीय दूतावासले निर्माण गरिदिएको भवनको केही रकम ठेकेदारलाई दिन बाँकी रहेको भन्दै यसका लागि पनि छिटै निकास निकाल्न उहाँले आग्रह गर्नुभयो ।

बुलिङटार गाउँपालिका अध्यक्ष शशिकिरण बस्ताकोटीले गएको बर्खामा बुलिङटार र जरायोटार सिँचाइ आयोजनामा क्षति पुगेको र तुरुन्त मर्मत नगरे बर्खे खेती गर्न सक्ने अवस्था नरहेको भन्दै ध्यानाकर्षण गराउनुभयो ।

बुलिङटार महिला सञ्जालका अध्यक्ष सुनिता विकले मुलुकमा राजनीतिक परिवर्तन भए पनि महिलामाथि हुने हिंसा झनै बढेको गुनासो गर्नुभयो ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button