नेपाल आइडल-४ विजेता भुपेन्द्र को हुन्, कसरी सफल भए ?

भैरहवा । भुपेन्द्र थापा मगर नेपाल आइडल सिजन ४ का विजेता बनेका छन् । गायन रियालिटी शो नेपाल आइडलमा तीनपटक सहभागी भई सिजन ४ को उपाधि जितेका उनी भैरहवाका स्थायी बासिन्दा हुन । पढाइका साथसाथै संगीतलाई एउटै रथको दुई पांग्रा जस्तै लगेका उनी तेस्राे प्रयासमा च्याम्पियन बनेका छन् ।

रुपन्देहीको सिद्धार्थनगर- ३ दरखसवामा बस्दै आएका थापा पूर्वभारतीय सैनिक सेरु थापा मगर र रत्ना थापा मगरका कान्छा छोरा हुन् । बुआ, आमा, दिदीसहित बस्दै आएका थापाले भैरहवाकै सनसाइन आवासीय विद्यालयबाट एसएलसीसम्मको अध्ययन गरे । हाल उनी भैरहवा बहुमुखी क्याम्पसमा स्नातक अध्ययनरत छन् । पढाइसँगै खेलमा पनि रुचि राख्ने उनले सांगीतिक यात्रालाई पनि जारी राखे ।

भैरहवामा सञ्चालित भैरहवा कलाकेन्द्रमा विगत ६ वर्षदेखि उनी साधकको रूपमा पनि छन्। कलाकेन्द्र हुँदा नै उनी यसअघिका दुईवटा नेपाल आइडलमा पनि प्रतिस्पर्धीको रूपमा थिए । दुवैपटक पराजित भएका उनले तेस्रोपटक अवार्ड नै चुमेका छन् ।

शानिबार राति ग्रान्ड फिनालेमा दर्शकको भोटको आधारमा चार प्रतिस्पर्धीलाई उछिन्दै उनले अवार्ड चुमेका हुन् । झापाका नामगेल तामाङ, रामेछापका रञ्जित नेपाली पनि टप ३ मा परेका थिए । यस्तै चौथो र पाँचौ स्थानमा झापाका विश्वास उप्रेती र मोरङकी लक्ष्मी पौडेल परेकी छन् ।

थापा आइडलमा तेस्रोपटक सहभागी हुन खोजेका थिएनन्, कला केन्द्रकै दिपक विश्वकर्माले अडिसनका लागि पुनः प्रेरित गरेका थिए । थापालाई सफल गराउन कलाकेन्द्रका गुरुहरू, साधक, स्थानीय र परिवारको पनि पूर्ण सहयोग छ ।

गुरु किशोर विश्वकर्माका साथै कलाकेन्द्रका साधक दिपक विश्वकर्मा, समाजसेवी ओमकुमार श्रेष्ठ, दिपेन्द्र प्रधान, दिपेन्द्रमान श्रेष्ठ, रुप माया पुनलगायत उनलाई विजयी गराउन भैरहवामा अभियान नै चलाउनु भएकाे थियाे ।

अन्नपूर्ण मीडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाले उनलाई ३० लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभयाे । र, साथै ट्रफी प्राप्त गरे । भुपेन्द्र नेपाल आइडल सिजन ४ का विजेता भएकोमा आफूहरू गौरवान्वित भएको समाजसेवी ओमकुमार श्रेष्ठले बताउनु भयाे । भैरहवावासीका लागि याे ऐतिहासिक बनेको बताउनु भयाे ।

आइडलकाे चौथो संस्करणमा संगीतकार शम्भुजीत बास्कोटा, गायक सुगम पोखरेल र गायिका सुबानी मोक्तान निर्णायक हुनुहुन्थ्याे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button