चुनाव लक्षित गतिविधि तीव्र पार्दै नेकपा एस गण्डकी

पोखरा न्यूज । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी गण्डकी प्रदेश समितिको तेस्रो पूर्ण बैठक सोमवार पोखरामा सम्पन्न भएको छ । बैठकले गण्डकी प्रदेशमा पार्टीको संगठन निर्माण तथा आगामी वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वचनमा कार्यकर्ता परिचालन सम्बन्धी महत्त्वपूर्ण निर्णय गरेको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं गण्डकी प्रदेश इन्चार्ज केशवलाल श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार बैठकले पार्टीको सम्पूर्ण शक्ति निर्वाचनको तयारीमा लगाउने निर्णय गरेको छ । त्यसका लागि प्रदेश स्तरमा प्रदेश स्तरीय निर्वाचन परिचालन कमिटी, जिल्ला, महानगरपालिका, नगरपालिका, गाउँपालिका र वडा स्तरमा निर्वाचन परिचालन कमिटी चैत्र १५ गते भित्र गठन गरिसक्ने र यस अघि वनेका सबै कमिटीहरूलाई निर्वाचन परिचालन कमिटीमा रूपान्तरण गर्ने निर्णय गरेको छ ।

बैठकले स्थानीय तहका उम्मेदवार पार्टीले तय गरेका मापदण्डको आधारमा जनवादी प्रक्रियाको आधारमा छनौट गर्ने, मुलुकले भोगिरहेका, र गण्डकी प्रदेशका जल्दा बल्दा समस्याहरूको तथ्य परक विश्लेषण र ती समस्याका समाधान गर्ने प्रतिबद्धता सहित प्रत्येक स्थानीय तहमा विज्ञ सहित रहने गरी ३ सदस्य रहने गरी घोषण पत्र मस्यौदा समिति गठन गर्ने निर्णय गरेको छ ।

यसै गरी निर्वाचन प्रचार प्रसारमा जिल्ला पालिका वडा र बुथ प्रचार कमिटीहरू बनाउने, त्यसै गरी युवा विद्यार्थी, महिला, विभिन्न पेसाकर्मी लगायतका जनसङ्गठनहरू रहेका प्रचार कमिटीहरू बनाउने, घर दैलो कार्यक्रम गर्ने, आवश्यकता अनुसार आमसभा तथा कोण सभाहरूको आयोजना गर्ने लगायतका निर्णय गरेको छ ।

बैठकले नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य कृष्ण नेपालीलाई गण्डकी प्रदेशको कार्यालय सचिवमा मनोनीत गरेको छ । बैठकमा प्रदेशका ११ वटै जिल्लाको पार्टीको अवस्था, निर्वाचनमा आउन सक्ने परिणाम जिल्लामा नेकपा एस को प्रभाव लगायतका विषयमा समूहगत छलफल गरी निचोड प्रस्तुत गर्नुका साथै र जिल्लाको स्थलगत रिपोर्टिङ समेत गरिएको थियो ।

नेकपा एकिकृत समाजवादी गण्डकी प्रदेशका अध्यक्ष रामजी शर्माको अध्यक्षतामा भएको बैठकमा सो पार्टीका उपाध्यक्ष तथा गण्डकी प्रदेश इन्चार्ज केशवलाल श्रेष्ठ, स्थायी कमिटी सदस्य देवेन्द्र महतरा, पोलिटब्युरो सदस्य तथा गण्डकी प्रदेश उपाध्यक्ष प्रेम नारायण पौडेल,सचिव प्रतापलाल श्रेष्ठ लगायतले सम्बोधन गरेको पार्टीका पोलिटव्यूरो सदस्य एवं प्रचार विभाग प्रमुख श्रीनाथ बरालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button