एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्री फेरिँदैनन्: माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीबाट सरकारमा गएका मन्त्रीहरु हेरफेर नहुने स्पष्ट पार्नुभएकाे छ ।

केही दिन यता एकीकृत समाजवादीले सरकारमा पठाएका मन्त्रीहरु फिर्ता बोलाएर नयाँलाई जिम्मेवारी दिने तयारी गरेको समाचारहरु सार्वजनिक भइरहँदा पार्टी अध्यक्ष नेपालले त्यसमा सत्यता नभएको बताउनु भएकाे हाे ।

सोमबार साँखुमा आयोजना गरिएको कार्यक्रममा अध्यक्ष नेपालले पार्टी मन्त्री हेरफेर गर्ने पक्षमा नरहेको बताउनु भएकाे हाे।

उहाँले गलत र नियोजित रुपमा हल्ला फिजाइएको बताउनु भयाे । उहाँले कार्यकर्तालाई हल्लाको पछि नलाग्न आग्रह गर्नुभयाे ।

‘बाहिर आएको हल्लाको पछि नलाग्नुस् । मन्त्रीहरुलाई निकाल्दैछन्, नयाँ पठाउँदैछन् भन्ने हल्ला नपत्याउनू ।’

मन्त्री फेर्दैछन् भन्ने हल्ला चलेपछि आफ्ना पार्टीबाट सरकारमा सहभागी मन्त्रीलाई कर्मचारीले नटेरेको उहाँले बताउनु भयाे । उहाँले आफ्ना पार्टीबाट सरकारमा रहेका दुई मन्त्री एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गएको समाचारहरुमा पनि सत्यता नभएको दाबी गर्नुभयाे ।

एकीकृत समाजवादीबाट सरकारमा पाँच जना सहभागी छन् । सरकारमा एकीकृत समाजवादीबाट विरोध खतिवडा, प्रेम आले, किसान श्रेष्ठ, रामकुमारी झाँक्री सहित भवानी खापुङ राज्यमन्त्री रहनु भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button