
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एमालेले दुई/तीन सिट जित्ने दाबी गर्नुभएकाे छ ।
दुई तिहाइ सिट नजित्ने उहाँले ठोकुवा गर्नुभयाे ।
काठमाडौंको नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा जारी समाजवादी प्रेस संगठन नेपालको प्रथम विस्तारित बैठकमा बोल्दै खनालले भन्नुभयाे, ‘दुई तिहाइको ठीक उल्टो दुई/तीन सिट जित्न सक्छ ।’
उहाँले एमालेले गर्न सक्ने सम्भावित गठबन्धनबारे पनि आलोचना गर्नुभयाे ।
एमालेले आवश्यकताअनुसार लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत पार्टीसँग गठबन्धन गर्ने चर्चा चलिरहेको छ ।
यी दलहरूसँग एमालेको गठबन्धन बने दक्षिणपन्थी मोर्चा भन्न सकिने उहाँको भनाइ छ ।
उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रवाद अमेरिकी सहयोग परियोजना (एमसीसी)मा उदाङ्गिएको पनि बताउनु भयाे ।





