उठाउन सकिएन विस्का जात्राको ल्योसिंद्यो, आज उठाएर आजै ढालिने

भक्तपुर । भक्तपुरको विस्का जात्राको क्रममा बुधबार राति अवेरसम्म प्रयास गर्दा पनि ल्योसिंखेलमा ५५ हात लामो ल्योसिंद्यो (लिंगो) उभ्याउने प्रयास सफल हुन सकेन । साँंझदेखि राति ११ बजेसम्म निरन्तर उठाउने प्रयास गरे पनि योसिंद्य उठाउन असफल भएको हो ।

बुधबार उठाउन असफल भएको ल्योसिंद्यलाई आज बिहीबार उठाएर आजै साँंझ ढाल्ने परम्परा छ । सयौं युवाहरुले डोरीको सहायताले ल्योसिंद्यो उठाउने प्रयास गरेका थिए । घण्टौको प्रयासपछि पनि ल्योसिंद्यो उठाउन सफल भएन । प्रत्येक वर्ष जस्तै यो वर्ष पनि भक्तपुर नगरपालिका वडा नं ५ ल्योसिंखेलमा ल्यसिंद्यो उभ्याउने प्रयास भएको थियो ।

५५ हात लामो र ठूलो भएका कारण कुनै वर्ष यसरी निर्धारित दिनमा उठाउन नसकेको इतिहास छ । तर ल्योसिंद्य उठाउने नसकेको इतिहास भने छैन । निर्धारित दिनमा उठाउन नसकेको ल्योसिंद्यलाई बैशाख १ गते जसरी पनि उठाएर ढाल्ने गरिन्छ । यसलाई उठाउन आज पनि दिनभर प्रयास हुनेछ । आठ वटा डोरीको सहायताले तानेर उठाउने प्रयास हुन्छ । तर कुनै वर्ष यसरी उठाउन नसकिने हुन्छ ।

चैत मसान्तमा उभ्याउनुपर्ने तर नभ्याउन नसकेको योसिंद्यलाई वैशाख १ गते जसरी पनि उठाइन्छ । उठाइएको लिंगोलाई अनि यही दिन परम्परा अनुसार ढालिन्छ ।

आठ रात नौ दिन लामो विस्का जात्राको यो सवैभन्दा बढी मुख्य आकर्षणको जात्रा यही नै हो । जात्रा हेर्न भक्तपुरसहित काठमाडौं, ललितपुर अनि काठमाडौं उपत्यका आसपासबाट हजारौ जात्राप्रेमीहरु यो जात्रा हेर्न आउने गर्दछन् ।

यसअघि नयाँंवर्ष चार दिन अगाडि प्रसिद्ध पाँंचतल्ले मन्दिर टौमढी अगाडि राखेर बनाइएको भैरबनाथको रथ मंगलबार दिउँंसो तान्ने क्रमको सुरुवातसँंगै जात्रा सुरु भएको थियो । प्रत्येक वर्ष नयाँंवर्ष आगमनको चार दिन अगाडिदेखि सोही स्थानमा प्यागोडा शैलिमा बनाइएको तीनतल्ले भैरबनाथको रथ तान्ने क्रमसँंगै जात्रा प्रारम्भ हुने प्रचलन रहिआएको छ ।

इतिहास एवं संस्कृतिविद् डा पुरुषोतमलोचन श्रेष्ठका अनुसार भक्तपुरको विस्केट जात्रा पूर्वमध्यकालतिर तीनसय वर्ष भन्दा बढ्ता समयसम्म राष्ट्रिय पर्वकै रूपमा मनाइन्थ्यो । तत्कालीन भक्तपुर राज्य समग्र नेपालको राजधानीनगरको रूपमा रहेको बेलामा यो राष्ट्रिय पर्वकै रूपमा मनाइने उनले बताए । तर उपत्यकाको राजनैतिक विखण्डनलगायत वि.सं.१८२६ मा मल्लकालीन भक्तपुर राज्यको पतनपछि भक्तपुरले आफनो केन्द्रीय राजनैतिक–प्रशासनिक महत्व गुमाउँंदै गएपछि भने यो एक जिल्लाको स्थानीय जात्राको रूपमा मात्र सीमित रहन पुग्यो । तर अहिले फेरि यो जात्रा हेर्नका लागि भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रेपलान्चोकलगायतबाट सयौं मानिसहरु आउने गर्दछन् ।

किंम्बदन्ती अनुसार परापूर्वकालमा भक्तपुरमा बस्ने एक प्रतापी राजाको अत्यन्तै अद्भूत सुन्दरी राजकुमारी थिइन् । राजाले ती राजकुमारीसँग बिहे गर्नेलाई आफूले राजगद्दी नै सुम्पने बताएपछि राजगद्दी पाउने राजकुमारीसँग बिहे गर्न धेरै कुमारहरू आए । तर जसले राजकुमारीसँग बिहे गर्थे उ पहिलो रातमै त्यही ओछ्यानमा मर्दथ्यो ।

एकदिन एक बलवान राजकुमारले राजकुमारीसँग बिहे गरे । राति राजकुमारी निदाएपछि उनको नाकको प्वालबाट दुईवटा नागनागिनी निस्केर अजिङ्गरको रूपधारण गरी राजकुमारलाई डस्न लाग्दा राजकुमारले आफ्नो खड्गले काटेर दुई टुक्रा पारिदिए । ती नागनागिनीले प्राण त्याग गर्ने बेलामा अब हामी दुवै एकै ठाउँमा मर्न लाग्यौँ, हामी प्राण त्याग गरेर गएपछि हाम्रो पुरूषार्थ देखाउन सबैले देख्ने गरी जात्रा चलाइदिनू भनी प्राण त्याग गरे ।

भोलिपल्ट सधैँझैँ गुठीयार राजकुमारको लास लिन जाँदा राजकुमार जीवित नै र दुईवटा नाग–नागिनी मरेको देखेर सबै खुशी भएर राजाले पनि छोरीलाई अथाह धनसम्पत्ति दाइजो दिएर राजकुमारलाई राजतिलक गरिदिए । अजिङ्गरको स्वरूप हुने नागनागिनी मारिएको खुशीयालीका साथ यो जात्रा मनाउन थालिएको हो र नागनागिनीको अन्तिम इच्छाअनुसार ५५ हात लामो सोझो सल्लाको रूखको गोलो परेको लिङ्गो ल्योसिंखेलमा अहिले पनि ठड्याउने गरिन्छ । यसबाहेक पनि जात्रा सम्वन्धी अनेक किंम्वदन्ती छन् ।
भैरबनाथको रथ तानेर सुरु हुने जात्रा प्रत्येक वर्ष वैशाख ५ गते पाँंचतल्ले मन्दिर अगाडि नै रहेको यही भैरबनाथको रथलाई तानेर सम्पन्न हुने गर्दछ । यो बेला पनि रथलाई दुवै साइटमा डोरी राखेर तानिन्छ । यस दिनलाई स्थानीय नेपाल भाषामा द्यो थाहा विज्याइगू अर्थात देवता (रथ) माथि सवारी हुने भनिन्छ । यसकारण यस दिन माथिल्लो साइटमा ६ वटा र अर्काे साइटमा चार वटा मात्रै डोरी राखिन्छ ।

guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्

सम्बन्धित खबर

Back to top button