लमजुङमा सत्ता गठबन्धनलाई उम्मेदवार छान्न सकस

लमजुङ । सत्ता गठबन्धनको केन्द्रीय निर्णयअनुसार चार दलबीच लमजुङमा चुनावी तालमेल भएको छ । तालमेलअनुसार गठबन्धनको सिट बाँडफाँट प्रक्रिया सुरु भएको हो ।

केन्द्रमा भएको सहमतिअनुसार २०७४ को स्थानीय चुनावमा कांग्रेस र माओवादी केन्द्रले प्रमुख जितेको ठाउँमा कांग्रेस र माओवादी केन्द्रकै उम्मेदवार उठाउने र एमालेले जितेको ठाउँमा भागबन्डा गर्ने सहमति भएको थियो । तर लमजुङको आठवटै स्थानीय तहको प्रमुख तथा अध्यक्षमा कांग्रेसले दाबी गरेको छ । गठबन्धनकाे बैठक बसेर उम्मेदवार छनोट गरिने नेपाली काग्रेस लमजुङका सभापति डा. टकराज गुरुङले बताउनु भयाे ।

कांग्रेसले बेंसीसहरमा प्रमुखमा दाबी गरेको छ । माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले उपप्रमुखमा दाबी गरेको छ । ११ वडा रहेको बेंसीसहरमा कांग्रेसले नाैवटा वडाध्यक्ष दाबी गरेको छ । माओवादी केन्द्रले चार, एकीकृत समाजवादीले दुई र जसपाले तीनवटा वडाध्यक्षमा दाबी गरेको छ ।

मध्यनेपाल नगरपालिकामा कांग्रेसले प्रमुखमा दाबी गरेको छ । कांग्रेसले नै उपप्रमुख र माओवादी केन्द्रले पनि उपप्रमुखमा दाबी गरेको छ । १० वटा वडा रहेको मध्यनेपालमा कांग्रेसले आठवटा वडाध्यक्ष दाबी गरेको छ । माओवादी केन्द्रले तीन, एकीकृत समाजवादी र जसपाले एक/एक वडाध्यक्ष दाबी गरेको छ ।

राइनास नगरपालिकामा कांग्रेसले प्रमुख र उपप्रमुखमा दाबी गरेको छ । १० वटा वडा रहेको राइनासमा कांग्रेसले आठ वडाध्यक्ष दाबी गरेको छ । माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले पनि उपप्रमुखमा दाबी गरेको छ । माओवादी केन्द्रले ४ वटा वडा, एकीकृत समाजवादीले २ र जसपाले ३ वटा वडाअध्यक्षमा दावी गरेको छ ।

सुन्दरबजार नगरपालिकामा कांग्रेस र एकीकृत समाजवादीले प्रमुखमा दाबी गरेको छ । माओवादी केन्द्रले उपप्रमुखमा दाबी गरेको छ । ११ वडा रहेको सुन्दरबजारमा कांग्रेसले नाैवटा वडाध्यक्षमा दाबी गरेको छ । माओवादी केन्द्रले चार वडा अध्यक्ष, एकीकृत समाजवादीले दुई र जसपाले तीनवटा वडाध्यक्षमा दाबी गरेको छ ।

मर्स्याङ्दी गाउँपालिकामा प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादी केन्द्रले दाबी गरेको छ । नाैवटा वडा रहेको मर्स्याङ्दीमा कांग्रेसले ६ वटा वडाध्यक्षमा दाबी गरेको छ । माओवादी केन्द्रले तीनवटा वडाध्यक्ष दाबी गरेको छ । एकीकृत समाजवादीले वडा सदस्य दाबी गरेको छ ।

दूधपोखरी गाउँपालिकामा कांग्रेस र जसपाले प्रमुख र उपप्रमुखमा माओवादी केन्द्रले दाबी गरेको छ । कांग्रेसले सबै ६ वटै वडाध्यक्षमा दाबी गरेको छ । माओवादी केन्द्रले तीन र एकीकृत समाजवादीले दुई वडाध्यक्षमा दाबी गरेको छ । एकीकृत समाजवादी र जसपाले वडा सदस्यमा दाबी गरेका छन् ।

क्व्होलासोंथर गाउँपालिकामा प्रमुख र उपप्रमुखसहित नाैवटै वडाध्यक्षका लागि कांग्रेस गाउँ कार्य समितिले सिफारिस गरिसकेको छ । माओवादी केन्द्रले दुई र एकीकृत समाजवादीले एकजना वडा सदस्य दाबी गरेका छन् ।

दोर्दी गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रले प्रमुखमा दाबी गरेको छ । उपाध्यक्षमा जसपाले दाबी गरेको छ । नाैवटा वडा रहेको दोर्दीमा कांग्रेसले सात, माओवादीले चार, एकीकृत समाजवादीले एक र जसपाले दुईवटा वडाध्यक्षमा दाबी गरेको छ ।

लमजुङमा ०७४ को चुनावमा कांग्रेसले मध्यनेपाल नगरपालिकाको प्रमुख र दुधपोखरी गाउँपालिकाको प्रमुख जितेको थियो भने माओवादी केन्द्रले दोर्दी गाउँपालिकाको प्रमुख जितेको थियो । एमालेले पाँचवटा स्थानीय तहको प्रमुख जितेको थियो । ०७४ मा लमजुङमा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button