तनहुँमा २०७४ को स्थानीय निर्वाचनलाई फर्केर हेर्दा

तनहुँ । गत स्थानीय तहको निर्वाचनमा जिल्लाको देवघाट गाउँपालिकाको अध्यक्षमा एमालेका दुर्गबहादुर थापा ६५ मतान्तरले विजयी भए । जिल्लामा सबैभन्दा कम मतान्तरले स्थानीय तहको प्रमुखमा जित हासिल गरेका थापाले दुई हजार ८७९ मत प्राप्त गर्दा उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका कर्णबहादुर गुरुङले दुई हजार ८१४ मत पाएका थिए । माओवादी केन्द्रका भुवनसिं गुरुङले ७९१ मत ल्याए ।

उपाध्यक्षमा कांग्रेसकी विमला थापा विजयी भइन् । जम्मा एक मतान्तरले उनी विजयी भएकी हुन् । थापाले दुई हजार ८६० र उनकी प्रतिस्पर्धी एमालेकी सवित्रा न्यौपानेले दुई हजार ८५९ मत पाएका थिए । माओवादी केन्द्रबाट उपाध्यक्षमा उम्मेद्वारी दिएकी शुसिला नेपालले ७१२ मत पाइन् ।

शुक्लागण्डकी नगरपालिकामा नेपाली कांग्रेसका किसान गुरुङले नौ हजार ४२४ मत प्राप्त गरी विजयी भएका थिए । नेकपा एमालेबाट मेयरका उम्मेद्वार बनेका रामचन्द्र उपाध्यायले आठ हजार ७०५ मत पाए । उपमेयरमा एमालेकी सविता रसाईली आठ हजार ९८३ मत पाएर विजयी भइन् । माओवादीबाट उपमेयरमा उम्मेद्वारी दिएकी सर्वदा खनालले सात हजार ४३६ मत पाइन् । शुक्लागण्डकीमा कांग्रेस र माओवादीको गठबन्धन थियो । मेयर कांग्रेस र उपमेयर माओवादीले बाँडेका थिए ।

व्यास नगरपालिकामा भने एमाले र माओवादीको गठबन्धन थियो । तैपनि मेयर र उपमेयर दुवै पदमा कांग्रेस भारी मतान्तरले विजयी भयो । मेयरमा वैकुण्ठ न्यौपानेले १३ हजार ५६ र उपमेयरमा मिरा जोशीले १३ हजार २६० मत पाएर विजयी भए । गठबन्धनको तर्फबाट मेयरको उम्मेद्वार बनेका शंकरनारायण श्रेष्ठले नौ हजार ५९२ मत पाए । उनी हाल नेकपा एमाले विभाजन भएर बनेको एकिकृत समाजवादी पार्टीको केन्द्रीय सदस्य हुन् । माओवादीको कोटाबाट उपमेयर बनेको अतिन्द्रकेशरी न्यौपानेले निकै कम मत पाए । नौ हजार ७८३ मतान्तरले पराजित न्यौपानेले तीन हजार ४७७ मत पाएका थिए ।

भानु नगरपालिकामा पनि कांग्रेसले नै मेयर र उपमेयर जितेको थियो । मेयर उदयराज गौली र उपमेयर आशा थापा निर्वाचित भएका हुन् । गौलीले नौ हजार ५०५ र थापाले नौ हजार ३१८ मत पाएकी थिइन् । निकटम प्रतिष्पर्धी एमालेबाट मेयरको उम्मेद्वार बनेकी भगवती न्यौपानेले आठ हजार ९९९ र उपमेयरका उम्मेद्वार ऋषिराम पन्तले आठ हजार ८१६ मत पाएका थिए । माओवादीबाट उपमेयरमा उम्मेद्वारी दिएकी गिता शाहीले एक हजार १९५ मत ल्याएकी थिइन् ।

बन्दीपुर गाउँपालिकामा माओवादीले अध्यक्ष उपाध्यक्ष दुवै जितेको थियो । अध्यक्षमा पुर्णसिंह थापाले दुई हजार ८६३ र उपाध्यक्षमा करुणा गुरुङले दुई हजार ६८४ मत पाएर विजयी भए । निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कर्णबहादुर खत्रीले दुई हजार ४२१ र सविना गुरुङले दुई हजार ४६२ मत पाए । नेकपा एमालेका आनन्दमान जोशीले एक हजार ९३२ र शान्ति कुँवरले एक हजार ९८५ मत ल्याएका थिए ।

अघिल्लो पटक भएको स्थानीय तहको निर्वाचनले ऋषिङलाई नेपाली कांग्रेसको पकड सावित गराएको थियो । अध्यक्ष उपाध्यक्ष सहित सबै वडामा कांग्रेसले क्लिन स्विप पारेको थियो । अध्यक्षमा राजेन्द्र कृष्ण श्रेष्ठ र उपाध्यक्षमा गिनुमाया थापा निर्वाचित भए । दुवै जनाले दोब्बर बढी मतान्तरले जित हासिल गरेका हुन् । श्रेष्ठले चार हजार ९४१ र थापाले चार हजार ९९६ मत पाएका थिए । दोस्रो स्थानमा रहेका एमालेबाट अध्यक्षको उम्मेद्वार बनेका भुपालसिं थापाले दुई हजार ४८९ र उपाध्यक्षको उम्मेद्वार मधुमाया श्रेष्ठले दुई हजार ३७७ मत ल्याए । माओवादीबाट अध्यक्षका उम्मेद्वार खुमाया आलेको ५७२ र उपाध्यक्षका उम्मेद्वार गोमबहादुर रानाले ६९३ मत प्राप्त गरे ।

आँबुखैरेनी गाउँपालिकामा पनि अध्यक्ष उपाध्यक्ष कांग्रेसकै उम्मेद्वार विजयी भएका हुन् । गिरबहादुर थापाले दुई हजार ५८९ र पुष्पादेवी श्रेष्ठले दुई हजार २९७ मतभारका साथ जित हासिल गरे । निकटम प्रतिद्धन्दी एमालेका सन्तबहादुर केसीले दुई हजार २४२ र मिना अधिकारीले दुई हजार १६५ साथै माओवादी केन्द्रका प्रेमबहादुर गुरुङले एक हजार ५८४ र रजनी चुमानले एक हजार ४६९ मत पाइन् ।

म्याग्दे गाउँपालिकामा पनि कांग्रेसको दबदबा कायम रह्यो । अध्यक्षमा मायादेवी रानाले चार हजार ५४२ र उपाध्यक्षमा बालकृष्ण घिमिरेले चार हजार ५९२ मत प्राप्त गरे । एमालेका श्रीप्रसाद श्रेष्ठले तीन हजार ४६१ र रत्नादेवी घिमिरेले तीन हजार १५४ मत ल्याए । माओवादीबाट अध्यक्षका उम्मेद्वार डिलबहादुर नेपालीले ९३१ र उपाध्यक्षमा उठेकी जमुना अधिकारीले एक हजार ४२ मत ल्याएका थिए ।

घिरिङ गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष दुवै पदमा एमालेले जितेका थिए । अध्यक्षमा रनबहादुर रानाले तीन हजार ७३० र उपाध्यक्षमा सरस्वती घिमिरेले तीन हजार ७१३ मत पाएका थिए । कांग्रेसका अध्यक्षका उम्मेद्वार विष्णुविर थापाले दुई हजार ८१९ र उपाध्यक्षकी उम्मेद्वार निर्जला अर्यालले दुई हजार ७६२ मत ल्याएका हुन् । माओवादीबाट भुवनसिंह विकले ६१९ र जमुना थापाले ५६८ मत पाए ।

यसापालि जिल्लामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीले गठबन्धन गरेर निर्वाचनमा होमिने छन् । गठबन्धन भर्सेस एमालेको भिडन्त हुँदा अघिल्लो स्थानीय तहमा एमालेले कमजोर हुन सक्छ । अघिल्लो निर्वाचनको मतपरिणामलाई जोड्दा घिरिङमा बाहेक अरु सवै स्थानीय तह गठबन्धनको पोल्टामा पर्न सक्छ । तर, अघिल्लो निर्वाचनको तुलनामा तनहुँमा ४९ हजार ८६९ मतदाता थपिएका छन् । तिनै नयाँ मतदाता निर्णायक बन्ने ठम्याइ छ । र अर्कोतर्फ कांग्रेसबाट कारबाहीमा परेको गोविन्दराज जोशी समूहले एमालेसँग तालमेल गरेको छ । यसले कांग्रेसको मतान्तर घटाएर एमालेको बढाउने देखिन्छन् ।

आसन्न ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा दुई लाख ४४ हजार ३४० मतदाता कायम भएका छन् । निर्वाचन आयोगले एक लाख १७ हजार १३४ पुरुष र एक लाख २७ हजार २०६ महिला मतदाता कायम गरेको हो ।

२०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा एक लाख ९४ हजार ४७१ मतदाता कायम थिए । तर, एक लाख ३२ हजार ९४४ मत मात्रै खसेको थियो । अर्थात ६१ हजार ५२७ मतदाता स्थानीय तहको निर्वाचन प्रक्रियामा सामेल भएनन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button