तनहुँमा गठबन्धन दलमा सहमति भएन, एक्लाएक्लै उम्मेद्‌वारी दिँदै

तनहुँ । तनहुँमा सत्तारुढ दलको गठबन्धनमा सहमति जुट्न नसकेपछि एक्लाएक्लै उम्मेद्वारी दिने तयारी गरिएको छ ।

मनोनयन दर्ताको अन्तिम दिनसम्म पनि जिल्लामा गठबन्धन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीबीच सहमति जुट्न सकेको छैन ।

भागबन्डमा सबै दलको आ-आफ्नै अडान छ । सुरुदेखिको अडान उस्तै छ ।

सोमबार बिहान बसेको गठबन्धन दलको बैठक विनानिष्कर्ष टुंगिएपछि एक्लाएक्लै उम्मेद्वारी दिने तयारी भएको नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले बताउनु भयाे ।

‘बैठकमा सहमति जुट्न सकेन । सुरुमा जे अडाज थियो । अहिले पनि त्यही अडान छ । अब एक्ला एक्लै उम्मेद्वारी दर्ता गराउँछौँ’, उहाँले भन्नुभयाे ।

गठबन्धनमा सहमति भइनसके पनि च्याप्टर क्लोज भने नभएको उहाँको भनाइ छ । उहाँले सहमतिका लागि अझै समय रहेको बताउनु भयाे ।

‘मनोनयन दर्तापछि पनि सहमतिको प्रयास हुनेछ’, उहाँले भन्नुभयाे ।

मनोनयनको अन्तिम दिनसम्म पनि दलहरूले उम्मेद्वार टुंगो लगाउन सकेका छैनन् । वडा सदस्यदेखि स्थानीय तहको प्रमुखको उम्मेद्वार टुंगो लगाउनलाई दलहरू यतिबेला व्यस्त छन् ।

आइतबार मनोनयन दर्ताको पहिलो दिन जिल्लामा निकै कमले उम्मेद्वारी दर्ता गराएका छन् । दोस्रो दिन आज पनि यतिबेलासम्म निर्वाचन अधिकृतको कार्यालयमा भीडभाड देखिँदैन ।

नेकपा एमालेले १२ बजेपछि जिल्लाभर एकसाथ मनोनय दर्ता गराउने जनाएको छ । यद्यपि, एमालले पनि अहिलेसम्म उम्मेद्वारको सुची सार्वजनिक गरेको भने छैन ।

guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्

सम्बन्धित खबर

Back to top button