संयुक्त घोषणापत्र लिएर कति दिनमा के गर्ने भन्ने विश्वास दिलाउने गरी जान्छौ – आचार्य

पोखरा न्यूज । सत्तारुढ पाँच दलीय गठबन्धनको तर्फबाट पोखरा महानगरपालिकाका मेयर पदका साझा उम्मेदवार धनराज आचार्यले आफूहरूले एजेण्डाका आधारमा जनताको मत प्राप्त गर्ने बताउनुभएको छ ।

सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरामा मनोनयन दर्ता गराएपछि पत्रकारहरूसँग कुरा गर्दै एकीकृत समाजवादीका नेता आचार्यले व्यक्तिगत रूपमा यो अथवा त्यो भन्दा पनि गठबन्धनमा रहेका उम्मेदवारले ल्याएको एजेण्डाका आधारमा जनताले आफूहरूलाई भोट दिने बताउनुभएको हो ।

‘गठबन्धनमा रहेका उम्मेदवारले जे एजेण्डा लिएर आउँछन् नि, ती एजेण्डाका आधारमा भोट दिने हो । व्यक्तिलाई, धनराज आचार्यलाई अथवा कोपिला रानाभाटलाई दिने होइन,’ उपमेयरकी उम्मेदवार काँग्रेस नेतृ रानाभाट तर्फ हेर्दै आचार्यले भन्नुभयो, ‘ हामीले अबको पाँच वर्षमा पोखरा कस्तो बनाउँछौँ भनेर सायद भोलिसम्म एजेण्डा प्रस्तुत गर्छौँ । त्यो एजेण्डाका आधारमा हामीलाई भोट दिनुस् ।’

आफूहरू जनताकोमा संयुक्त घोषणापत्र लिएर जाने र त्यसमा कति दिनमा के कुरा गर्ने भन्ने घोषणा गरी विश्वास दिलाउने गरी आउने प्रतिबद्धता समेत आचार्यले व्यक्त गर्नुभयो ।

अघिल्लो स्थानीय चुनावमा पोखरा महानगरपालिकाका लागि एमालेको घोषणापत्र लेखनमा सक्रियमध्ये एक रहनुभएका आचार्यले घोषणापत्र राम्रो हुँदाहुँदै पनि काम नभएकाले आफूहरूले विद्रोह गरेको बताउँदै अव आफूहरूले गर्ने भनेका कुराहरू पुरा गरेरै छाड्ने अठोट व्यक्त गर्नुभयो ।

‘अघिल्लो घोषणापत्रमा धेरै राम्रा कुरा थिए जुन कार्यान्वयनमा गएनन् । स्मार्ट सिटी नै भएन । त्यो घोषणापत्र लेख्ने मान्छेमध्येको एउटा म हो । त्यो राम्रो भएको भए मैले विद्रोह नै गर्नुपर्थेन । जे गर्छु भनियो त्यो गरिएन,’ उहाँले भन्नुभयो ।

जनतासँग आफूहरूले झुट नबोल्ने र संयुक्त घोषणापत्रमा उल्लेख गरिएका काम गरेर नै छाड्ने उहाँको भनाई थियो ।

महानगरमा आफूहरूका प्रतिद्वन्द्वीहरू नेकपा एमालेका उम्मेदवार  दुवै जना टेस्टेड भइसकेका व्यक्ति भएको र उनीहरूको कार्यकाल जनताले भोगिसकेकाले पनि जनताले काम नगर्नेलाई यस पटक भोट नदिने उहाँको तर्क छ । गठबन्धनका पाँच वटै दल एकजुट भएकाले पनि कार्यकर्ता र शुभेच्छुक जनताको भोटले आफूहरूले सहज ढङ्गले चुनाव जित्ने दाबी उहाँले गर्नुभयो ।

उपमेयरकी उम्मेदवार कोपिला रानाभाटले आफ्नो प्रतिद्वन्द्वी सोही पदमा टेस्टेड भइसके र पुनः दोहोरिएको हुनाले आफूहरूलाई कुनै चुनौती नरहेको बताउनुभयो । उहाँले आफ्नो जित सहज रहेको समेत बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button