तनहुँमा झन्डै चार गुणा बढीको मनोनयन दर्ता

तनहुँ । जिल्लामा स्थानीय तहको निर्वाचनका लागि झन्डै चार गुणा बढीले उम्मेदवारी दिएका छन् । १० वटा स्थानीय तहमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा आइतबार र सोमबार उम्मेदवारी दर्ता गराइएको थियो ।

जिल्लाको १० स्थानीय तह र ८५ वडामा एक हजार ७ सय २७ उम्मेदवारले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचनको कार्यालय तनहुँका प्रमुख हरि ढकालले बताउनुभयाे । स्थानीय तहको प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य गरेर ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनले ४ सय ४५ जनप्रतिनिधि निर्वाचित हुनेछन् ।

ढकालका अनुसार स्थानीय तहको प्रमुख बन्नलाई ७१ जनाले र उपप्रमुखमा ५५ जनाले मनोनयन दर्ता गराएका छन् । प्रमुख र उपप्रमुख पदमा १०/१० जना निर्वाचित हुनेछन् ।

८५ वडाको वडाध्यक्ष पदमा ४०५ जनाको उम्मेदवारी परेको ढकालले जानकारी दिनुभयाे । १ सय ७० जना खुला वडा सदस्य पदमा ६ सय २९ जनाको उम्मेदवारी दर्ता भएको छ ।

खुला महिला सदस्यमा २ सय ९३ जना र दलित महिला सदस्यमा २ सय ७४ जनाको उम्मेदवारी दर्ता भएको उनले जानकारी दिए । स्थानीय तहको निर्वाचनका लागि जिल्लामा २३ दल दर्ता थिए । जिल्लामा दर्ता नभएको उन्नत लोकतान्त्रिक पार्टीले पनि शुक्लागण्डकी नगरपालिकामा उम्मेदवारी दिएको छ ।

स्थानीय तहमा जनप्रतिनिधि छान्नलाई जिल्लाका दुई लाख ४४ हजार ३ सय ४० मतदाता सहभागी हुनेछन् । जसमध्ये एक लाख १७ हजार १ सय ३४ पुरुष र एक लाख २७ हजार २ सय ६ महिला मतदाता हुन् ।

जिल्लामा १ सय ३६ मतदानस्थल र २ सय ९७ मतदान केन्द्र कायम गरिएको छ । जस मध्य पाँच मतदानस्थल अति संवेदनशिल रहेका छन् ।

स्थानीय तहको निर्वाचन सम्पन्न गर्नका लागि तनहुँमा दुई हजार बढी जनशक्ति खटाइनेछ । जिल्लाको १० स्थानीय तहको ८५ वडामा दुई हजार तीन सय ७४ जनशक्ति खटिने निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।

२ सय ९७ मतदान केन्द्रमा २ सय ९७ मतदान अधिकृत खटाईनेछ । २ सय ९७ मतदान सहायक अधिकृत खटिनेछन् । ५ सय ९२ जना सहायक र २ सय ९७ सहयोग समेत निर्वाचन सम्पन्न गराउनलाइ खटिनेछन् । यस्तै, प्रत्येक मतदान केन्द्रमा तीन जनाका दरले ८ सय ९१ जना स्वयंमसेवक पनि खटिनेछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button