भूतपूर्व गोर्खाहरुको पेन्सन सीधै राष्ट्र बैंकमै आउने ब्यवस्था मिलाउन माग

लन्डन । बेलायतस्थित भूतपूर्व गोर्खाहरुको पेन्सन अहिलेसम्म पनि भारतको रिजर्भ बैकमा जम्मा हुदाँ नेपाललाई करोडौं रुपैयाँ घाटा भएको भन्दै गोर्खाहरुले आपत्ति जनाएका छन् ।

गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति यूके नेपालका प्रमुख संयोजक कृष्णबहादुर राई र ब्रिटिश गोरखा नेपाली नागरिकता निरन्तरता अभियान यूके नेपालका प्रमुख संयोजक सन्तोष थलङले बेलायतस्थित नेपाली दूतावासमार्फत अर्थमन्त्रीलाई एक पत्र लेख्दै सरकारको दशकौं देखि पाउण्ड स्टर्लिङबाट भारुमा हुँदै नेपाल आउने भूतपूर्व गोर्खाहरुको पेन्सन पाउण्ड स्टर्लिङ सीधै नेपाल राष्ट्र बैंकमै आउने ब्यवस्था मिलाउन नेपाल सरकार तथा बेलायत सरकारसंग जोडदार माग गर्नुभएकाे हाे ।

देशलाई संकट परेको अवस्थामा हामीले हाम्रो जिन्दगीको बाजी लगाएर आर्जेको ब्रिटिश सेनाको पेन्सन र क्षतिपूर्ति पाउण्ड स्टर्लिङमै नेपाल राष्ट्र बैंकमा जम्मा हुने ब्यवस्था मिलाई देशका लागि बैदेशिक मुद्रा आयात गर्ने दीर्घकालिन श्रोत निर्माण गरि देशको अर्थतन्त्रमा योगदान पुरयाउन चाहन्छौं पत्रमा उल्लेख छ ।

उहाँहरुले नेपालमा हाल अर्थतन्त्रमा देखिएको संकटप्रति चासो देखाउँदै नेपाली नागरिकता निरन्तरताको सुनिश्चितता नभएर दीर्घकालीन बसोबास नै बेलायतमा हुने परिस्थिति भए गोरखाहरुले वाध्य भएर नेपालमा भएका आफ्नो चल–अचल सम्पत्ति बिक्री गरि अर्बौँ नेपाली मुद्रा बेलायत तिरै लैजानुपर्ने स्थिति सृजना हुनेतर्फसमेत सचेत गराउनु भएकाे छ ।

गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति तथा ब्रिटिश गोरखा नेपाली नागरिकता निरन्तरता अभियान समितिले संयुक्त रुपमा शुक्रबार लन्डनस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्यमार्फत अर्थमन्त्रीलाई पेस गरेको पत्रमा वैदेशिक मुद्रा आयात गर्ने दीर्घकालिन श्रोत निर्माण गरी देशको अर्थतन्त्रमा योगदान पुर्याउन लालयित भएको जनाउंदै गोर्खाहरुले यसका लागि तत्काल पहल गर्न नेपाल सरकारलाई विशेष सुझावसहित अनुरोध गर्नुभएकाे छ ।

उहाँहरुले पत्रमा गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिको निर्णायक आन्दोलन पश्चात नेपाल सरकार, बेलायत सरकार र गोरखा प्रतिनिधिबीच सम्पन्न हुने वार्तामा यस बिषयलाई प्रमुख एजेन्डाका रुपमा समावेश गरिएको स्मरण गर्नुभएकाे छ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button