तनहुँमा १४ जनाको प्रमुख पदबाट उम्मेद्वारी फिर्ता

तनहुँ । तनहुँमा स्थानीय तहको प्रमुख पदका लागि उम्मेद्वारी दिएका १४ जनाले उम्मेद्वारी फिर्ता लिएका छन् । शुक्रबार जिल्लाका नौ स्थानीय तहको प्रमुखमा उम्मेद्वारी दिएका १४ जनाले उम्मेद्वारी फिर्ता लिएका छन् । चार जना उपप्रमुखको उम्मेद्वारले उम्मेद्वारी फिर्ता लिएका छन् ।

व्यास नगरपालिकाको प्रमुखबाट दुई जनाको उम्मेद्वारी फिर्ता भएको निर्वाचन कार्यालय तनहुँका प्रमुख हरि ढकालले बताउनु भयाे । उहाँका अनुसार नेकपा एकिकृत समाजवादी पार्टीबाट मेयरमा उम्मेद्वारी दिनुभएका शंकरनारायण श्रेष्ठ र स्वतन्त्र उम्मेद्वारी दिनुएका वृषराज श्रेष्ठले फिर्ता लिनुभएकाे छ ।

शुक्लागण्डकी नगरपालिकाको मेयरमा उम्मेद्वारी दिनुभएका एकिकृत समाजवादीका कमल गैरे र जनता समाजवादी पार्टीका पुण्यबहादुर हिराचनको उम्मेद्वारी फिर्ता भएको छ । शुक्लागण्डकीको उपमेयरबाट एकिकृत समाजवादीकी रेखा थापा बस्यालले पनि उम्मेद्वारी फिर्ता लिनुभयाे ।

भिमाद नगरपालिकामा कांग्रेसबाट मेयरमा उम्मेद्वारी दिनुभएका निरञ्जन खनालले फिर्ता लिनुभएकाे छ । उपमेयरमा एकिकृत समाजवादीको तर्फबाट उम्मेद्वारी दर्ता गराउनु भएकी मधुमाय ढकालले पनि फिर्ता लिनु भएकाे हाे । भानुको मेयरमा स्वतन्त्र उम्मेद्वारी दिनुभएका हरिबहादुर क्षेत्रीको उम्मेद्वारी फिर्ता भएको छ ।

देवघाट गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रबाट शुसिला नेपाल र स्वतन्त्रबाट हिमालय पौडेल र सुकलाल गुरुङको उम्मेद्वारी फिर्ता भएको छ । घिरिङको अध्यक्षबाट माओवादी केन्द्रका हरिहर अधिकारी, म्याग्देको अध्यक्षबाट स्वतन्त्र उम्मेद्वारी दिनुभएका हिमकुमार मल्ल, बन्दीपुरको अध्यक्षमा स्वतन्त्र उम्मेद्वारी दिनुभएका मानकाजी श्रेष्ठ र केशव अधिकारीले उम्मेद्वारी फिर्ता लिनु भयाे । बन्दीपुरको उपाध्यक्षमा एमालेबाट फुलमती थापा र स्वतन्त्रबाट लक्ष्मी गौतमको उम्मेद्वारी फिर्ता भएको छ ।

जिल्लामा स्थानीय तहको प्रमुख बन्ने होडमा ७२ जना र उपप्रमुखको होडमा ५६ जना छन् । शुक्रबारको उम्मेद्वारी फिर्तासँगै प्रमुख पदमा ५८ जना र उपप्रमुखमा ५२ जना चुनावी मैदानमा भिड्नेछन् ।

जिल्लामा आइतबार स्थानीय तहको प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य गरेर ११५ जनाले उम्मेद्वारी फिर्ता गरेको निर्वाचन कार्यालय तनहुँले जानकारी दिएको छ । जिल्लाको १० स्थानीय तह र ८५ वडाका लागि कुल एक हजार ७५१ जनाको उम्मेद्वारी परेको थियो । कार्यालयका अनुसार ४६ जना वडाध्यक्ष, ३५ जना वडा सदस्य, महिला सदस्य १२ र दलित महिला सदस्य चार जनाले उम्मेद्वारी फिर्ता लिएका हुन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button