गृहमन्त्रीका भाईले भ्रमपूर्ण आश्वासन बाँडेको आराेप

बुटवल । रुपन्देही तिलोत्तमा नगरपालिकामा कांग्रेसबाट मेयरको उम्मेदवार बन्नुभएका गृहमन्त्री बालकृष्ण खाणका भाइ रामकृष्ण खाणले मनलाग्दी भ्रमपूर्ण आश्वासन बाँडेको भन्दै अर्थविदहरूले असम्भव कुरा नगर्न आग्रह गरेका छन् ।

कांग्रेसले तिलोत्तमामा तीन दिनअघि सार्वजनिक गरेको घोषणापत्रमा नगरपालिकाको प्रशासनिक भवनलाई अस्पतालमा रुपान्तरण गर्ने उल्लेख गरेको छ । तिलोत्तमा क्याम्पसका प्राध्यापक तुलसीप्रसाद सापकोटाले अस्पताल निर्माणको छुट्टै आचारसंहिता हुने भन्दै कसैले चाहँदैमा प्रशासनिक भवनलाई अस्पताल बनाउन नमिल्ने बताउनु भयाे । ‘प्रशासनिक भवन अस्पताल निर्माणको मापदण्डमा आधारित रहेर बनेको होइन, असम्भव र झुटा आश्वासनले जनतालाई भ्रमितबाहेक केही गर्दैन, हुनै नसक्ने विषय घोषणा पत्रमा राख्नु लाजमर्दो हो,’ उहाँले भन्नुभयाे ।

कांग्रेससहितको गठबन्धनले जारी गरेको तिलोत्तमा घोषणा पत्रमा हाल नगरपालिकाले लिँदै आएको एकीकृत सम्पत्ति कर ५० प्रतिशत घटाउने, रुग्ण उद्योग व्यवसायको तिर्न बाँकी करमा ५० प्रतिशत छुट दिने, सडक निर्माण गर्दा हाल उपभोक्ताबाट ५० प्रतिशतसम्म लागत साझेदारी गर्नुपर्ने व्यवस्था खारेज गरी पूर्ण सरकारी बजेटमा बनाउने प्रतिबद्धता गरिएको छ । एकातिर कर घटाउने कुरा गर्ने अर्कातिर लागत साझेदारी खारेज गरेर पूर्ण सरकारी पैसामा बाटो बनाउँछु भन्नु सान्दर्भिक नहुने उहाँको भनाइ छ । ‘कर घटाउनु भनेको नगरपालिकाको आम्दानी घट्नु हो, आम्दानी नै नभएपछि कसरी आफ्नो पैसामा बाटो बनाउँछ,’ अर्थविद् आरसी आचार्यले भन्नुभयाे ।

अर्थतन्त्रका जानकार हुमराज भुसालले गठबन्धनले घोषणापत्रमा अव्यावहारिक कुरा मात्रै गरेको टिप्पणी गर्नुभयाे । ‘आन्तरिक राजस्व संकलनका लागि करारोपण नगरीकन विकासको कार्यक्रम अगाडि बढाउने कुरा अव्यावहारिक र काल्पनिक मात्रै हो,’ उहाँले भन्नुभयाे ।

प्रशासनिक भवन र अस्पताल भवनको बारेमा सामान्य जानकारी नराखीकन अस्पताल सञ्चालन गर्ने कुराले गठबन्धनले नागरिकको विकास प्रतिको मोहलाई सम्बोधन गर्न असफल भएको उहाँको भनाइ छ । तिलोत्तमा नगरपालिकाले वडा नम्बर ६ को कुञ्जलापुरमा आठ बिघा क्षेत्रफलमा करिब ६ करोड लागतमा प्रशासनिक भवन बनाएको छ ।

गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार कांग्रेस नेता रामकृष्ण खाणले प्रशासनिक भवनलाई अस्पतालमा रुपान्तरण गर्न मिल्ने या नमिल्ने भन्ने कुरा प्राविधिक विषय भएको बताउनु भयाे । ‘अस्पताल बनाउन मिल्छ कि मिल्दैन भन्ने कुरा प्राविधिकले भन्ने कुरा हो तर हामीले प्रशासनिक भवन सामान्य बनाएर अहिलेको भवनलाई अस्पतालमा रुपान्तरण गर्न खोजेका हौं,’ उहाँले भन्नुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button