
पोखरा, २० वैशाख । गठबन्धनका तर्फबाट पोखरा महानगरपालिकाको प्रमुख पदका उम्मेदवार धनराज आचार्यले लामो समय देखी बन्द रहेको फूलबारी रिसोर्ट सञ्चालनका लागि पहल गर्ने बताएका छन् ।
रिसोर्ट बन्द भएपछि कयौँको रोजगारी गुम्नुका साथै पर्यटनमानसमेत नकारात्मक प्रभाव पारेकाले यसको सञ्चालनका लागि आफू मेयर भए लगत्तैदेखि पहल गर्ने प्रतिबद्धता जनाएका हुन् । उनले भने,‘रिसोर्ट सञ्चालनका लागि म पहलकदमी लिन्छु । यसबाट मजदुरले गुमाएको रोजगारी फिर्ता गर्दै पर्यटनमा पनि सकारात्मक प्रभाव पार्ने वातावरण निर्माण गर्छु ।’
पोखरामा रहेको पाँच तारे होटल लामो समय बन्द रहँदा सुविधा खोज्ने पर्यटक र तारे होटल नै रोज्ने पर्यटकहरूलाई समस्यामा परेको उनको भनाई थियो । पर्यटकहरूका लागि पनि महत्त्वपूर्ण रिसोर्टमा काम गर्ने कामदारहरूको रोजगारीको सुनिश्चिततासँगै पाहुनाहरूको स्वागत योग्य बनाउने उनको भनाई थियो ।
पोखरा १५ मा मंगलबार बिहान घरदैलो गर्दै उनले विवादका कारण समस्यामा परेर फूलबारी रिसोर्ट बन्द हुँदा आर्थिक रूपमा पोखराले घाटा बेहोरेको उनले बताए । उनले पोखरा अन्तर्राष्ट्रिय बजारसँग जोडिँदै गर्दा यस्ता प्रकारका पूर्वादारहरू पुनः सञ्चालनको विकल्प नभएको बताए । साथै उनले नेपाल भारतको सम्बन्धको रूपमा रहेको पेन्सन क्याम्पको थप विकासका लागि पनि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए ।
पोखरा महानगरपालिका उपमेयरका उम्मेदवार कोपिला रानाभाटले पोखरा महानगरलाई महिलामैत्री बनाउने बताएकी छिन् । उनले घरदैलो कार्यक्रममा महानगरलाई महिलामैत्री बनाउने प्रतिबद्धता जनाइन् ।
महिलाको हकहितका लागि विकासका आधारभूत तत्त्वको समेत सुधार ल्याउने उनले बताइन् । विशेष गरी उपमेयरको काम न्यायिक समिति र पूर्वाधार संरचना अनुगमन भएपनि मेयरसँग मिलेर पोखराको विकास र समृद्धिका लागि योजनाबद्ध ढङ्गले काम गर्ने उनले बताइन् । महिलाको क्षमता अभिवृद्धि, हक अधिकारका लागि त्यही अनुसारको कार्यक्रम ल्याउने उनले बताइन् ।
राष्ट्रियताको सवालमा भिन्न विचार भए पनि एक ठाउँमा उभिएको र गठबन्धन अझै चल्नुपर्ने बताइन् । वडामा गठबन्धन गरेका कारण जित सुनिश्चित रहेको उनको दाबी छ । उनले यो समय गठबन्धनको अस्तित्व जोगाउने बेला रहेको र सबैले इमानदार पूर्वक भूमिका बनाउनुपर्ने बताइन् ।
घर दैलो कार्यक्रममा पोखरा १५ का वडाध्यक्ष मीनबहादुर गिरीले पाँच वर्ष बुद्धि बंगरा दाँते किराले खाएकाले अब उपचार गर्नु पर्ने समय आएको बताए । ५ वर्षसम्म कुनै पनि काम नगर्नेहरूलाई मतदाताहरूले मत मार्फत उपचार गर्नुपर्ने धारणा राखे ।
मेयर उपमेयरसँगै पोखरा १५ वडा अध्यक्षमा काँग्रेसका मीनबहादुर गिरी , वडा सदस्यमा नरेश थापा (जसपा), महेश बानिया (माओवादी) ,माया शर्मा (नेकपा, एस) र लक्ष्मी परियार (माओवादी) रहेका छन् ।





