कास्कीमा बाबुछोरीको मृत्यु हुने गरी मापसे गरेर दुर्घटना गराउने चालक मल्ल फरार

पोखरा न्यूज । कास्कीको अन्नपुर्ण गाउँपालिका, ढिकुरपोखरीको लेवाडेमा आइतबार बिहान भएको सवारी दुर्घटनामा संलग्न कार चालक अझै फरार छन् । घटना भएको दुई दिनसम्म कास्की प्रहरीले चालक पर्वतको कुस्मा १ मा बस्ने २७ वर्षीय एन्जल बम मल्ललाई पक्राउ गर्न सकेको छैन ।

पर्वतबाट पोखरा फर्कँदै गर्दा ग १८ प ८१९१ नम्बरको मोटरसाइकललाई ग ३ च ३५२५ नम्बरको कारले ठक्कर दिँदा मोटरसाइकलमा सवार १८ वर्षीया सुजिना तिलिजा पुनको घटनास्थलमै मृत्यु भएको थियो भने मोटरसाइकल चालक सुजिनाका बुवा ४५ वर्षीय जीतबहादुर पुनको उपचारकै क्रममा सोमबार मृत्यु भयो ।

कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले घटनामा संलग्न चालकको खोजी कार्य जारी रहेको र कास्की प्रहरीको अफिसयल फेसबुक पेजबाट सार्वजनिक सूचना जारी गरेको बताए ।

कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले कारमा सवार अन्य तीन जना साथीहरुलाई नियन्त्रणमा लिएको बताउँदै चालक मल्ललाई चाँडै नै पक्राउ गर्ने बताए । ‘अहिलेसम्म चालक फरार नै छन् । तर, हामी चाँडै नै पक्राउ गर्छौँ । दोषी उम्कन सक्दैन ।’ तिवारीले भने ।

मृतकका आफन्तले बाबुछोरीको शव बुझेका छैनन् । कारका चालकलाई पक्राउ नगर्दासम्म शव नबुझ्ने उनीहरूले बताएका छन् । कार चालक फरार रहेको र प्रहरीले पक्रिन उदासीनता देखाएको भन्दै पोखरा-बागलुङ राजमार्गको हेमजास्थित याम्दी पुलमा सोमबार केहीबेर उनीहरूले सडक अवरुद्ध गरे । त्यसअघि, पोखरा गैह्रापाटनथित जिल्ला प्रहरी कार्यालय कास्कीसमेत घेराउ गरेका थिए ।

रक्सी खाएर लापरबाहीपूर्वक कार चलाउँदा दुर्घटनाः प्रवक्ता

कास्की प्रहरी प्रवक्ता तिवारीले घटनामा संलग्न कार चालकले रक्सी सेवन गरी कार हुँइक्याएको पुष्टि गरे । कारमा सवार अन्य साथीहरुले पनि मापसे गरेको र उनीहरुको बयानअनुसार चालकले पनि मापसे गरेको खुलेको हो । शनिबार पोखरा आएर लेकसाइड बसी रातभर रमाइलो गरेपछि बिहानै बागलुङतर्फ गएको बयान दिएका छन् । बाटोमा हेम्जाको घट्टेखोलामा फेरि बियर पिएर उकालो लागेका थिए ।

प्रत्यक्षदर्शीका अनुसार कार तीव्र गतिमा थियो । घुम्तीमा बसलाई ओभरटेक गर्दै अघि बढ्दा गलत लेनमा रहेको कारले आफ्नै बाटोमा आइरहेको मोटरसाइकललाई ठक्कर दियो । कारको अघिल्तिरको भागमा पूणर् क्षति पुगेकाले पनि तीव्र गतिमा कार हुइंकिएको पुष्टि हुन्छ ।

ठक्करपछि कारमा सवार युवाहरुले दुई जना घाइतेलाई सहयोग गर्नुको सट्टा भागे । दुर्घटनापछि स्थानीयहरू जम्मा हुनासाथ कार चालक मल्ल मकैबारीतिर हामफालेर भागेका हुन् ।

डिएसपी तिवारीले कार चालकले गम्भीर लापरवाही गरेको देखिएकाले अधिकतम सजाय हुने बताए । मापसे गरी सवारी चलाएर दुई जनाको ज्यान गएको र ठक्करपछि भागेकाले हिट एण्ड रनमा समेत सजाय आकर्षित हुने उनले बताए ।

कास्की प्रहरीले आफ्नो अफिसियल फेसबुक पेज मार्फत् चालकको तस्वीरसहित खोजतलास सम्बन्धमा सार्वजनिक सूचना जारी गरेको छ ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. yo ta ktm ko budhanilkantha ko case jastai vayo ta….car driver lai hadai samma ko sajaya hunu parxa…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button