
पोखरा, २० वैशाख । नेकपा (एमाले) निर्वाचन परिचालन कमिटी पोखरा ७ ले चुनावी प्रचार तथा घरदैलो कार्यक्रमलाई तीव्र पारेको छ ।
घरदैलो कार्यक्रम अन्तरगत मंगलबार रत्नचोक, ढाडक्षेत्र, अन्नपूणर्टोल, एयरपोर्ट, मस्ताङचोकमा कार्यक्रम गरिएको हो । विभिन्न स्थानमा घरदैलो कार्यक्रम गरेपछि माछापुच्छ्रे टोलमा आएर कोणसभा सम्पन्न गरिएको छ ।
कोणसभालाई सम्बोधन गर्दै नेकपा एमाले पोलिटब्युरो सदस्य तथा संविधानसभा सदस्य सीता गिरीले दाजुभाई बन्धुत्व भनेर मत खेर नफाल्न आग्रह गरिन् । अहिले लडाई गठबन्धन र एमालेको भएकोले केन्द्रदेखि स्थानीय तहसम्म एमालेलाई जिताउन गरिन् ।
प्रतिगमन एकैठाउँमा उभिएर अग्रगमनमलाई पराजित गर्न उकासिएको भन्दै गिरीले प्रतिगमनको यो योजनालाई परास्त गर्नुपर्नेमा जोड दिएकी छिन् ।
सोही अवसरमा वडा नं. ७ का वडाध्यक्षका प्रत्यासी किशोर बरालले मतदाताको मतलाई सदुपयोग गर्ने जनाउँदै मतदाताको विश्वासलाई कहिलै चुक्न नदिने प्रतिवद्धता जनाएका छन् । सूर्य चिन्ह जस्तै नेकपा एमालेको योजना पनि छर्लंग भएकाले आफ्नो अमुल्य मत दिएर जनप्रतिनिधि चुन्ने दायित्व आफूले मतदातामा छाडेको बताए ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटीका सहइन्चार्ज बमबहादुर घताने तथा निर्वाचन जिल्ला कमिटी सदस्य ओम गौचनले समेत आ-आफ्नो भनाई व्यक्त गरेका थिए ।
घरदैलोमा उमेद्वारसँगै कार्यकर्ता र शुभेच्छुकको उल्लेखनिय उपस्थिति थियो । घरदैलो गरिरहँदा वडाका उमेद्वारलाई मतदाताले खादा र अविरसहित जितको शुभकामना दिएका छन् । भेटघाट कार्यक्रममा युवासँगै वृद्धवृद्धाको समेत बाक्लो उपस्थिति थियो ।
पोखरा-७ मा नेकपा एमालेका तर्फबाट वडाध्यक्षमा किशोर बराल, खुला महिला सदस्यमा बसुन्धारा लामिछाने, दलित महिला सदस्यमा सुनिता सुनार, खुला सदस्यमा अर्जुन थापा र विष्णुमणि बराल छन् ।
भोलि बुधबार विहान ७ बजे निर्वाचन परिचालन कमिटीको कार्यालयवाट घरदैलो कार्यक्रम सुरु गर्ने र मासबार क्षेत्रमा कार्यक्रम केन्द्रित गर्ने वडाध्यक्षका प्रत्यासी बरालले जानकारी दिएका छन् ।





