कर्मचारी चिन्न एक वर्ष खर्च गर्नुपर्दैन – मेयर पदका उम्मेदवार थापा

पोखरा । पोखरा महानगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेदवार कृष्ण थापाले महानगरको घोषणापत्र र वडाहरुको घोषणापत्रमा उल्लेखित योजनाहरु अक्षरशः पालना गर्ने बताउनुभएको छ  ।

नेकपा एमाले पोखरा वडा नं. ८ को  चुनावी भेलामा बोल्दै उहाँले  आफू पहिल्यै मेयर भइसकेको र उपमेयरले ५ वर्षदेखि निरन्तर काम गरिरहेकाले पनि आफूहरु जित्नासाथ पोखराको विकासको काम सुरु हुने बताउनुभयो ।

‘कर्मचारी चिन्न एक वर्ष खर्च गर्नुपर्दैन । काम कसरी के गर्ने भनेर अर्को एक वर्ष अल्मलिनु हामीलाई पर्दैन । अघिल्लो नेतृत्वले ऐन, नियम, कानुन बनाइसकेकाले पनि अब यसमा अल्झेर बस्नु पर्दैन ।’ थापाले भन्नुभयो – ‘मैले मेयरको अनुभव लिइसकेको छु । उपमेयरजीले अनुभव लिइसक्नुभयो । हामी पहिलो दिनबाटै काम सुरु गर्ने हो । हामीलाई अल्झनु पर्दैन ।’

उपमेयरका उम्मेदवार मञ्जुदेवी गुरुङले  सुरुमा ऐन कानुन नहुँदा अल्झनुपरेको भन्दै विधि नियम बनेपछि द्रुत गतिमा काम भएको बताउनुभयो । गुरुङले पोखरामा १५ सय ८५ किमि सडकहरु पिच, ग्राभल, स्तरोन्नति भएको, २७ कनेक्टिङ रोड बनेको, १ सय भन्दा धेरै पार्क, २४ वटा स्थानमा घाट, २८ वटा सार्वजनिक सौचालय, ९ वटा अपांगमैत्री वडा कार्यालय, १४ कार्यालयको स्तरोन्नति, पोखरा ८ सहित ३ वटा कार्यालय काम सुरु, अन्य वडामा जग्गाप्राप्तिको काम भइरहेको बताउनुभयो  ।

पोखरा महानगरपालिका, वडा नं. ८ का अध्यक्षका उम्मेदवार रुद्रनाथ बरालले आफ्नो ५ वर्षे कार्यकाल सुशासनयुक्त रहेको भन्दै  वडामा बाँकी विकास निर्माणका कामहरुलाई अबको कार्यकालमा पूरा गर्ने वचनबद्धता  प्रकट गर्नुभयो । रुद्रनाथ बराल पुनः अध्यक्षको उम्मेदवार हुनुहुन्छ ।

वडामा एमालेको तर्फबाट खुल्ला महिला सदस्य उम्मेदवारमा पवित्रा केसी, दलित महिला सदस्यमा लक्ष्मी बिक, खुल्ला सदस्य उम्मेदवारहरुमा गोविन्द बराल र हिराकाजी श्रेष्ठ रहनुभएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button