
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चितवनको भरतपुर महानगरपालिकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेललाई निर्वाचनमा निष्क्रिय पार्न भन्दै भरतपुरमा हुनुहुन्छ ।
पौडेललाई निष्क्रिय पारेर गठबन्धनबाट प्रमुख पदकी उम्मेदवार बन्नुभएकी रेणु दाहालको पक्षमा चुनावी माहोल बनाउन देउवाले चाहनु भएकाे छ । उहाँले पौडेलसँग छलफलसमेत गरेको कांग्रेसका एक नेताले जानकारी दिनुभयाे । पौडेल भने सकारात्मक हुनुभएकाे छैन। देउवाले उहाँलाई ‘कन्भिन्स’ पार्न भने प्रयास गरिरहेको ती नेताले बताए ।
तर, कांग्रेस जिल्ला सभापति राजेश्वर खनालले भने पौडेलसँग छलफल गर्ने भन्ने सुनेको र पौडेल सकारात्मक कि नकारात्मक भए भन्ने जानकारी नभएको बताउनु भयाे ।
‘सभापतिज्यूले भेट्ने भन्ने कुरा चाहिँ सुनेको थिएँ । तर, भेट भयो कि भएन र भेटमा निष्क्रिय हुन उहाँ (जगन्नाथ पौडेल) सकारात्मक हुनु भयो कि भएन भन्ने जानकारी छैन’, उहाँले भन्नुभयाे ।
पौडेललाई १६ वैशाखमा उम्मेदवारी फिर्ता गराउन यसअघि गृहमन्त्री बालकृष्ण खाण र राज्यमन्त्री उमेश श्रेष्ठलाई देउवाले पौडेलकै घरमा पठाउनु भएकाे थियाे । उहाँहरूले आग्रह पनि गरे तर पौडेल टसमस हुनुभएन ।
यसपछि भने नेता शंकर भण्डारीलाई पनि पौडेललाई भेट्न पठाउनु भयाे । उम्मेदवारी फिर्तादेखि निष्क्रिय रहन अस्वीकार गर्दै आएपछि देउवा नै भरतपुर पुग्नुभएकाे हाे ।
पौडेल १६ वैशाखकै पार्टीको साधारण सदस्यतासमेत नरहनेगरी कारबाहीमा परिसक्नुभएकाे छ । उहाँ स्वतन्त्र उम्मेदवारको रूपमा निर्वाचन चिह्न ‘भुइँकटहर’ लिएर घरदैलो अभियानमा हुनुहुन्छ ।
कांग्रेसबाट उहाँ यसअघि राष्ट्रियसभा सदस्य भइसक्नुभएकाे छ । उहाँ गठबन्धनप्रति असन्तुष्ट हुँदै स्वतन्त्र उम्मेदवार बन्नुभएकाे हाे।