निर्वाचनको वेलामा जनता झुक्क्याउने र फण्डा गर्ने प्रवृत्ति हाबी छ : धनराज

पोखरा । पोखरा महानगरपालिकाको ग्रामीण इलाकालाई जोड्ने अधिकांश सडकहरूको अवस्था दयनीय रहेको छ । गाउँ गाउँमा वडा सरकार भए पनि बितेको पाँच वर्षमा खास प्रगति देखिएन । महानगरवासी भए पनि यहाँका नागरिकहरू खानेपानीको अभाव जेल्न बाध्य छन् । महानगरमा व्यवस्थित सहरी विकास हुन सकेको छैन । तर, पोखरा महानगरपालिकाको नेतृत्वका लागि चुनावी दौडमा रहेका गठबन्धनका उम्मेदवारहरूले भने यी सबै समस्याहरूको समाधान पाँच वर्ष भित्र सम्भव रहेको बताएका छन् ।

पोखरा महानगरपालिकाले हालसम्म कुशल नेतृत्वको पाउन नसकेको भन्दै उनीहरूले यसको समग्र विकासका लागि गठबन्धनका उमेदवारहरु सक्षम र योग्य रहेको बताए । गठबन्धनका तर्फबाट पोखरा महानगरपालिकाको मेयर पदका उम्मेदवार धनराज आचार्यले हालसम्म महानगरको नेतृत्वमा पुगेकाहरूले जनतालाई सपना देखाएर आफै निदाएर बसेका कारण पोखराका जनताले दुख पाएको धारणा व्यक्त गर्नुभयो । निर्वाचनको वेलामा जनता झुक्क्याउने फण्डा गर्ने अनि सपना बाँडेर त्यसको कार्यान्वयन नगर्ने गलत प्रवृत्ति भएका पात्रहरूकै कारण पोखरा पछि परेको उनको भनाइ छ ।

पोखराको विकासका लागि पर्याप्त स्रोत र साधन जुटाउन सकिने उल्लेख गर्दा उहाँले इच्छाशक्ति भएको खण्डमा महानगरमा धेरै काम गर्न सकिने बताउनुभयो । आफूहरू म भन्दा पनि हामी भन्ने भावना बोकेर आएका कारण महानगरमा धेरै काम गरेर देखाउने बाचा गरे । पोखरा महानगरका ग्रामीण इलाकासँग जोडिएका ठाउँमा ‘ग्रेटर पोखरा’ को अवधारणसँग तालमेल गरी ५ वटा स्याटलाइट टाउन निर्माण गरिने धनराज आचार्यले घोषणा गरे । प्रत्येक वडाको सेवा प्रविधियुक्त बनाउने बताएका उनले सहजताका लागि अधिकांश सेवा वडाबाटै हुने व्यवस्था मिलाउने पनि बताए ।

स्थानीय निर्वाचन नजिकिएसँगै वडा–वडामा पुगेका आचार्यले भने, ‘वडाबाटै समस्याको समाधान गर्ने व्यवस्था मिलाउनेछौँ, वडावासीलाई सहज होस भनी वडालाई सुविधा सम्पन्न बनाउनेछौँ ।’ उनले एउटा वडा र अर्को वडा जोड्ने कनेक्टिङ रोड स्तरोन्नति गरिने पनि बताए ।

उम्मेदवार आचार्यले फरक धार र विचार बोकेका पार्टीहरू बिच साना दुखले गठबन्धन नगरिएको बताए । आफूहरूको गठबन्धन साझा र पवित्र उद्देश्यका प्राप्तिमा समर्पित रहेको आचार्यले बताए । लामो राजनीतिक सङ्घर्ष मार्फत प्राप्त उपलब्धिहरूको रक्षाका साथै समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि पनि दलहरू बिचको समीकरण आवश्यक रहेको उनले बताए । विधि, पद्धति र संविधानको खिलाफमा जाने अराजक नेतृत्वको बेकुफीपनका कारण मुलुक दुर्घटनामा जाने देखिएपछि प्रजातन्त्र र लोकतान्त्रिक गाण्तन्त्रका लागि लडेका शक्तिहरू एक हुनुपरेको उनले जिकिर गरे ।

यस्तै उपमेयर पदकी उम्मेदवार कोपिला रानाभाटले महानगर भ्रष्टाचारको दलदलमा फसेको बताएकी छिन् । उनले महानगरलाई भ्रष्टाचारमुक्त र सुशासनयुक्त बनाउन गठबन्धनको जित आवश्यक रहेको बताइन् । वैशाख ३० गते पोखराको भविष्यको फैसला गर्ने दिन भएकाले त्यसको महत्त्वलाई बुझी गठबन्धनका उमेदवारहरुलाई मतदान गर्न उनले अपिल समेत गरिन् ।

पोखरा महानगरपालिकाको विकासको मोडेल कस्तो बनाउने र सेवालाई कसरी नागरिकमैत्री बनाउने भन्ने ठोस योजना आफूहरूसँग रहेको बताएकी उम्मेदवार रानाभाटले सहज सेवा प्रवाहका सम्बन्धमा आफूहरू सचेत रहेको पनि बताइन् । उनले पाँच वर्षभित्र महानगरीय खानेपानी प्रणालीलाई बहु सरोकारवाला परियोजना मार्फत व्यवस्थित गरिने बताइन् ।

चुनावी आमसभामा पोखराका विभिन्न ठाउँमा पुगेकी रानाभाटले सहरको नजिक भएका ठाउँहरूमा पनि खानेपानीको समस्या देखिन । ‘आधा दिन खानेपानीको लाइनमा जाने गरेको मतदाताले गुनासो गर्नुभयो,’ उनले भनिन्, ‘खानेपानी लाई जतिसक्दो घरघरमा पु¥याउनेछौं भनेर प्रतिबद्धता गरेका छौँ । एक घर एक धाराको अवधारणा सहित पानी पु¥याउनछौं ।’

गठबन्धनले पर्यटकीय दृष्टिकोणबाट महत्त्वपूर्ण ठानिएको अन्तर्राष्ट्रिय सभा हल निर्माण सम्पन्न गर्ने र सभागृहमा रहेको सिटी हललाई व्यवस्थित गर्ने घोषणा गरेको छ । पोखराको बढ्दो सवारी चापलाई व्यवस्थापन गर्न अटोमेटिक ट्राफिक सिग्नलको अवधारणा अघि सार्ने गठबन्धनको घोषणामा उल्लेख छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button