लालपुर्जाको कथा पुरा गर्छौँ, पृथ्वीचोक बसपार्कलाई आधुनिक बनाउँछौँ : धनराज

वैशाख २५, पोखरा । पोखरा महानगरपालिकामा गठबन्धनका साझा मेयर पदका उम्मेदवार धनराज आचार्यले पृथ्वीचोक बसपार्कलाई आधुनिक बसपार्कको रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आइतबार पोखरा ९ को चुनावी आम सभामा बोल्दै उनले गठबन्धन सरकारले जितेको दुई वर्ष भित्र नै सिटी बसपार्क बनाउने बताएका हुन् ।

उनले पोखरा महानगरपालिकालाई सुव्यवस्थित महानगर बनाउँदै पोखरा ९ मा रहेको अव्यवस्थित बसोबासलाई व्यवस्थित गराउने जिम्मेवारीका साथ आफू चुनावी मैदानमा होमिएको बताए । उनले पोखराको ल्याण्डफिल्ड साइटको व्यवस्थापन गरी अन्तर्राष्ट्रिय विमानस्थललाई चाँडो सञ्चालन गर्न पहल गर्ने बताए ।

उनले भने, “पोखराको फोहोर व्यवस्थापन गर्नुपर्ने आवश्यकता छ । ल्याण्डफिल्ड साइटको उचित व्यवस्थापन गर्न सकिएन भने अन्तर्राष्ट्रिय विमानस्थल चल्दैन । विमानस्थल नचल्दा हामी ऋणमा पर्छौँ । त्यसैले यसको शीघ्र सञ्चालनमा जोड दिनेछौँ ।’

उनले पोखरा ९ मा अव्यवस्थित रूपमा बसेका नागरिकलाई हिजोको सरकारले लालपुर्जाको कथा सुनाए पनि व्यवस्थापन गर्न नसकेको आरोप लगाए । गठबन्धनको सरकारलाई महानगरमा जिताउँदा सो समस्या टर्ने गरी काम गर्ने प्रतिबद्धता उनको छ ।

उनले भने,“अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्न उच्च भूमि सुधार आयोगसँग समन्वय गरी समस्याको समाधान गरिनेछ । लालपुर्जाको कथालाई हामी पुरा गर्नेछौँ । मत दिएर विजय बनाइदिनुहोस् ।”

बसपार्कको जग्गा बसपार्कलाई नै दिने र मुआब्जा दिएर वा सट्टा पट्टि गरेर व्यवस्थित गरिने भनाई उनको छ । पोखरा आसपासका गाउँमा बस्ने नागरिकलाई घरबाटै आउन जान सुविधा हुने गरी बसको व्यवस्था गरिने भनाई उनको छ । गठबन्धनको सरकार आएमा डाँडाकाँडामा बसोबास गर्नेहरू पोखरामा डेरा गरेर बस्नुपर्ने स्थिति नआउने उनले बताए ।

शिक्षा,स्वास्थ्य,खेलकुद र पर्यटनको क्षेत्रमा अहिलेसम्म नभएका कामहरू गर्दै गठबन्धन सरकार अगाडि बढ्ने प्रतिबद्धता उनको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button