पोखरामा काँग्रेसबाट बागी उम्मेदवार रहेका कार्कीले मेयरमा धनराजलाई नै सघाउने

उम्मेदवारी फिर्ता लिँदै गठबन्धनका उम्मेदवारलाई सघाउने प्रतिबद्धता

पोखरा, २६ वैशाख । पार्टीको नीतिप्रति असहमति जनाउँदै आसन्न स्थानीय निर्वाचनमा पोखराको मेयर पदमा ‘बागी’ उम्मेदवारी दिएका काँग्रेस नेता विमलबहादुर कार्कीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्तासँगै उनले गठबन्धनबाट मेयर पदमा उठेका धनराज आचार्य र नेपाली काँग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई समर्थन गर्ने बताएका छन् ।

कार्कीले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै पार्टीले उम्मेदवारी फिर्ता गर्नका लागि दिएको निर्देशन मान्दै आफ्नो उम्मेदवारी निष्क्रिय भएको बताएका छन् । ‘साथीभाइको सल्लाह र अग्रज नेताहरूको आग्रहलाई मान्दै मैले नेपाली काँग्रेस र गठबन्धनका आधिकारिक उम्मेदवारलाई सघाउने निर्णय लिएको छु ।’ प्रेस विज्ञप्तीमा उनले भनेका छन्–‘मेरो उम्मेदवारी आजैदेखि निष्क्रिय भएको छ ।’

यसैबिच नेपाली काँग्रेस कास्कीले पनि नेता विमलबहादुर कार्कीलाई धन्यवाद ज्ञापन गरेको छ । पार्टी भित्र असन्तुष्टि भए पनि आन्तरिक रूपमा मिलाउने र गठबन्धनका उम्मेदवारलाई जिताउने गरी कार्कीले उम्मेदवारी फिर्ता लिएकोमा आफू निकै खुसी भएको काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले बताए । ‘विमलबहादुर कार्की ज्यूले पार्टीलाई सघाउने काम गर्नुभएको छ । र, यो उदाहरणीय काम पनि हो ।’ कास्की काँग्रेस सभापति बरालले भने ।

गठबन्धनको साझा उम्मेदवारलाई बागी उम्मेदवारकै कारण भोट काटिने चिन्ता पनि अब हटेको कास्की काँग्रेसले बताएको छ । पोखरा १४ स्थानीय घर भएका काँग्रेस नेता कार्कीले गठबन्धनका उम्मेदवारलाई सघाउने भएपछि पोखरा महानगरको निर्वाचन जित्न गठबन्धनलाई अझै बढी सजिलो भएको नेपाली काँग्रेस कास्कीको बुझाई छ ।

गठबन्धनको तर्फबाट पोखरा महानगरपालिकामा मेयर पदका उम्मेदवार रहनुभएका नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष धनराज आचार्यले कार्कीको उम्मेदवारी फिर्ताले गठबन्धनमा थप ऊर्जा मिलेको बताए । उनले कार्कीको उम्मेदवारी फिर्तासँगै काँग्रेसमा देखिएको केही असन्तुष्टि समेत हटेका कारण आफूसँगै गठबन्धनका सबै उम्मेदवारको जित सुनिश्चित भएको दाबी गरे ।

‘नेपाली काँग्रेसका मेरा आदरणीय नेता, अग्रज दाइ विमलबहादुर कार्कीले मेयरमा मलाई नै समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ । उम्मेदवारी फिर्ता सँगै उहाँले गठबन्धनका उम्मेदवारलाई जिताउन लागि पर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । म उहाँलाई मेरो व्यक्तिगत तथा पाँच दलीय गठबन्धनको तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु,’ आचार्यले भने ।

उनले पोखरा महानगरमा गठबन्धन बलियो बनाउन अहोरात्र खटिने सत्ता गठबन्धनका शीर्ष नेताहरू सँगै प्रदेश जिल्ला र महानगर कमिटीका नेताहरूलाई समेत धन्यवाद व्यक्त गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button