पोखरा महानगरपालिकामा गठबन्धनको जित सुनिश्चित – धनराज

वैशाख २६,पोखरा । पोखरा महानगरपालिकामा गठबन्धनबाट साझा उम्मेदवार बनेका मेयरका प्रत्यासी धनराज आचार्य र उपमेयरका प्रत्यासी कोपिला रानाभाटलाई जिताउन नेताहरू पोखरा आउने क्रम जारी छ ।

यस्तैमा सोमबार मात्र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) पोखरा आए ।
उनले गठबन्धनका उम्मेदवारलाई जिताउन आम मतदाता समक्ष अपिल समेत गरेका छन् । वैशाख ३० गतेको निर्वाचनमा गठबन्धनले पराजय भोग्नु परे मुलुक ठूलो दुर्घटनामा जाने अभिव्यक्ति उनको थियो । पोखरा २६ लेखनाथमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले पोखरा समृद्ध बनाउन गठबन्धनको आवश्यकता परेको बताए । संविधान र संघीयताको रक्षाका लागि गठबन्धनका उम्मेदवारहरुले जित्नुपर्ने भनाई उनको थियो ।

केपी ओलीको हैकमवाद र अहङ्कारले संविधान, सङ्घीयता र गणतन्त्र धरापमा परेपछि त्यसको रक्षाका लागि आफूहरू नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्दै संयुक्त गठबन्धनमा जाने निर्णयमा पुगेको उनले स्मरण गराए । संविधानलाई सिद्ध्याउने खेलमा लागेको ओली नेतृत्वको प्रतिगमनलाई परास्त गर्नको लागि जीवन मरणको लडाइँमा होमिन उनले गठबन्धनमा आबद्ध दलका नेता तथा कार्यकर्ताहरूलाई अपिल गरेका छन् ।

आफ्नै हातले संसदमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएर प्रधानमन्त्री बनाएको स्मरण गराउँदै नेता श्रेष्ठले वैशाख ३० गतेको निर्वाचनमा कलम चिन्हमा मतदान गर्न नहिचकिचाउन आग्रह समेत गरे । त्यस बेला देउवाको नेतृत्वमा गठबन्धन नगरिएको भए अहिलेसम्म केपी ओलीले संविधान र सङ्घीयता समाप्त गरिसकेका हुने उनले बताए ।

नेपाल सरकारका श्रम तथा रोजगार मन्त्री समेत रहेका किसानले नेपाली युवाहरूको श्रम सुरक्षाका लागि आफू निरन्तर खटिरहेको बताउँदै अव स्वदेश मै रोजगारीका अवसरहरू सृजना गरिने विश्वास समेत दिलाए । विदेशमा रहेका नेपाली युवाहरूको अवस्था प्रति आफू निकै चिन्तित रहेको उनले बताएका छन् ।

धनराज आचार्य र कोपिला रानाभाटले पोखरा २६ को विकासका लागि आफूहरू प्रतिबद्ध रहेको बताए । “पोखरा २६ मा विकास गर्नुपर्ने आवश्यकतालाई हामीले औँल्याएका छौँ । स्थानीय नागरिकहरूको समस्यालाई सम्बोधन हुने गरी हाम्रा कामकारबाही अगाडि बढ्नेछन् । हामी पाँच वर्ष फूल ड्युटी नभई ड्युटी फूल मान्यताका आधारमा महानगर हाक्छौं । हामीलाई तपाईँको सहयोगको आशा छ ।”, उनीहरूले भने ।

यस्तै, पोखरा ३२ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै मेयर पदका उम्मेदवार आचार्यले पोखरा प्रवेशका मुख्य नाकाहरूमा आकर्षक बगैचाहरु निर्माण गर्ने उद्घोष गरेका छन् । उनले ६ महिना भित्र तनहुँ, स्याङ्जा र बागलुङ तर्फबाट पोखरा प्रवेश गर्ने मुख्य नाकाहरूमा पोखरा प्रतिबिम्बित हुने गरी आकर्षक बगैचाहरु निर्माणको प्रक्रिया सुरु गरिने बताए ।

उनले भने, ‘पर्यटकीय सहर पोखराको पर्यटन प्रवर्द्धनका लागि विभिन्न योजनाहरू बनाइने छ । पर्याप्त स्थानमा पदमार्गहरू निर्माण गर्ने, ऐतिहासिक र पुरातात्त्विक क्षेत्रको पहिचान र प्रवर्द्धन गर्ने, आवश्यक पर्यटन पूर्वाधारको निर्माण गर्ने र भ्यु टावर तथा दृश्यावलोकन स्थलहरूको व्यवस्थापन गरिनेछ ।’

उम्मेदवार आचार्यले सार्वजनिक शिक्षाको विषयमा सरोकारवालाहरुसंग आवश्यक छलफल गरी जबाफदेही र गुणस्तरीय बनाउने बताए । शिक्षाको स्तर सुधार नभएसम्म सभ्य समाजको निर्माण गर्न नसकिने भन्दै सार्वजनिक शिक्षामा देखिएका समस्याहरूको निराकरण गर्ने भनाई उनको थियो । स्वास्थ्यलाई जनता केन्द्रित कार्यक्रममा रूपमा अगाडी बढाउने र कृषिलाई आयात विस्थापन गर्ने गरी आत्मनिर्भर र उत्पादन मुलुक बनाउने योजनाका साथ चुनावी मैदानमा होमिएका छन् आचार्य ।

उनले महानगरको शिर र तिरमा विकासका सुचाङ्क पुग्न नसकेको बताए । महानगरलाई चाहिने सबै पूर्वाधार तयार गर्ने प्रतिबद्धता व्यक्त गर्दै पहिलो मिति मै म भन्दा माथि उठेर हामी भन्ने भावनामा साथ काम कार्यवाही सुरु गर्ने बचन दिए । काँग्रेसका बागी उम्मेदवार विमल कार्कीले उम्मेदवारी फिर्ता लिएपछि गठबन्धन झन् बलियो भएको दाबी गरे । पोखरा महानगरपालिकामा गठबन्धनको जित सुनिश्चित भएको उनले बताएका छन् ।

उपमेयर पदकी उम्मेदवार नेपाली काँग्रेसकी नेतृ कोपिला रानाभाटले आफू कमाउनका लागि नभई सेवाका लागि महानगरमा जाने प्रतिबद्धता व्यक्त गरिन् । उनले भनिन्,“म कुनै कमाउन होइन राजनीतिमा बटुलेका अनुभव साट्नका लागि उपमेयरको रूपमा प्रस्तुत भएकी छु । वडा ३२ मा विकासको लहर ल्याउने गठबन्धन सरकारले नै हो । एमालेको सरकारको जस्तो गफ गर्न हामीले जानेका छैनौँ । हामी काम प्रति विश्वास गर्छौँ ।”

वडाको घोषणापत्र र नगरपालिकाले बनाएको घोषणापत्र साथमा साथ हातमा हात राखेर विकास गर्ने भनाई उनको थियो । कार्यक्रममा नेपाली काँग्रेस कास्की, एकीकृत समाजवादी कास्की, नेकपा माओवादी केन्द्र कास्कीका नेताहरूको समेत उपस्थिति थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button