पोखरा २२ लाई धार्मिक, सांस्कृतिकसँगै कृषि पर्यटन क्षेत्रका रूपमा विकास गर्छौँ: आचार्य

पोखरा, २७ वैशाख । पाँच दलीय गठबन्धनको तर्फबाट पोखरा महानगरपालिकाको मेयर पदका उम्मेदवार धनराज आचार्यले पुम्दीकोटलाई पर्यटकीय स्थलको रूपमा विकास गर्नका लागि पुम्दीकोटसम्म पुग्ने बाटोको स्तरोन्नति गर्ने प्रतिबद्धता जनाएका छन् । पोखरा २२ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले प्रत्येक वडामा थप पर्यटकीय गन्तव्य समेत निर्माण गर्ने प्रतिबद्धता जनाए ।

उनले पोखरा प्रवेश गर्ने पोखरा २२ को सिमानाकामा सुन्दर गेट निर्माण गर्ने पनि बताए । शान्ति स्तुपाको संरक्षणका लागि थप कार्य गर्ने बताउँदै उनले वडालाई कृषिको पकेट क्षेत्रको रूपमा विकास गरिने बताए ।

पोखरा २२ धार्मिक, सांस्कृतिक हिसाबले पनि धनी रहेको भन्दै उनले पुम्दी भुम्दीका  गुरुङ समुदायको संस्कृतिलाई संरक्षण गर्दै विकास गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्दै पर्यटकीय स्थलका रूपमा विकास गरिने बताए । हिन्दुले मान्ने शिवको विशाल मूर्ति बनिरहेको, बुद्ध धर्मावलम्बीहरूका लागि विश्व शान्ति स्तुपा वडा २२ मै रहेको भन्दै अन्य जात धर्मलाई समेत समेट्ने गरी विशेष  धार्मिक, सांस्कृतिक पर्यटकीय स्थलका रूपमा  वडालाई विकास गर्ने आफूहरूको योजना रहेको उनले बताए ।

त्यहाँको पर्यटनलाई कृषि पर्यटनका रूपमा समेत विकास गर्न सकिने आचार्यले बताए । पुम्दी भुम्दी दूध, फलफूल, तरकारी, पोल्ट्री फार्म आदीका हिसाबले प्रसिद्ध रहेको भन्दै त्यहाँका किसानलाई प्रविधि मैत्री बनाउँदै  कृषि पर्यटनको नमुना वडाको रूपमा विकास गरिने उनको भनाइ थियो ।

घोषणा पत्रमा उल्लेख गरिएका विषयवस्तुहरूको कार्यान्वयनका लागि आफूहरू इमानदार रहेको बताएमा उनले महानगरको सेवालाई चुस्त र सुशासन युक्त बनाउने समेत प्रतिबद्धता जाहेर गरे ।

यस्तै उपमेयर पदकी उम्मेदवार कोपिला रानाभाटले वडाको धार्मिक पर्यटन विकासका लागि आफूहरूले विशेष पहल गर्ने प्रतिबद्धता जाहेर गरिन् । धार्मिक गन्तव्यका रूपमा स्थापित पुम्दीकोट र विश्व शान्ति स्तुपा लगायत स्थलहरूको थप विकास र संरक्षण गरिने उनले बताइन ।

ग्रामीण वडा भएका कारण कृषिको प्रविधिकरण, खानेपानी, शिक्षा, स्वास्थ्य लगायतको समस्या रहेको बताउँदै उनले त्यसको उपलब्धताका लागि विशेष पहल गर्ने पनि बताइन । पोखरा महानगरवासी भए पनि महानगरको सेवा सुविधा उपभोगबाट वडावासीहरू विमुख भएको उल्लेख गर्दै रानाभाटले विकासका सवालमा ग्रामीण वडाहरूलाई प्राथमिकतामा राखिने प्रतिबद्धता जाहेर गरिन ।

वडा अध्यक्ष पदका उम्मेदवार हिमलाल बरालले समग्र वडाको विकासमा अहोरात्र खटिने प्रतिबद्धता जनाए । बाटोघाटो, शिक्षा, स्वास्थ्य र पूर्वाधारको विकासका खातिर वडावासीको हितानुकुल काम गर्ने बताएका उनले अन्यथा आफू जनताबाट दण्डित हुने पनि बताए । बरालले आफ्नो घोषणा पत्रमा उल्लेख गरिएका हरेक कार्यक्रमहरूको लेखाजोखा गर्न आग्रह समेत गरे ।

उनी पोखरा २२ मा स्वतन्त्र उम्मेदवारका रूपमा भूइँकटहर चुनाव चिन्हका साथ चुनावी मैदानमा छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button