धनराजको अग्रसरता : जित पहिल्यै पोखराको लागि योजना बुझाइ बजेट मागेर फर्किए

पाेखरा, १० जेठ । एमालेकाे गढ मानिएका पाेखरा महानगरका वडाहरूमा गणना चलिरहेकाे थियाे । १५, १६, १७, २१ र ३३ लगायत वडाहरूमा करिब दाेब्बर मतले यसअघि एमालेले जितेका थिए । ती वडामा आइपुग्नुअघि केही मतले मात्र गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार धनराज आचार्यले अग्रता लिई रहनुभएको थियो । सबैकाे ध्यान यिनै वडाहरुमा थिए, कि यहाँबाट एमालेले लिड गरे चुनाव जे पनि हुन सक्छ । यस्तै अन्याेलका बीच गठबन्धनका मेयर उम्मेद्वार धनराज आचार्य आइतबार काठमाडाैं जानुभयो र  पाेखराका प्रमुख याेजनाहरू संघ सरकारलाई बुझाउनुभयो ।

विशेषगरी ल्याण्डफिल साइट स्थानान्तरण गर्न उहाँको माग छ । निर्माणाधीन पाेखरा अन्तर्राष्ट्रिय विमानस्थल चल्न ल्याण्डफिल हटाउनुपर्ने पहिलाे सर्त छ । अघिल्लाे जनप्रतिनिधिले ५ वर्षे कार्यकालमा गर्न नसकेकेा ल्याण्डफिल सार्ने याेजनामा अहिले गठबन्धन उम्मेद्वारले पहिलाे चासाे दिए ।

त्यहाँबाट ल्याण्डफिल सारेर आवश्यक बजेट मागेकाे एकीकृत समाजवादीका आचार्यले बताउनुभयो । `पाेखराकाे प्रमुख चिन्ता ल्याण्डफिल हाे । याे सार्नुपर्छ,´ उहाँले भन्नुभयो, `अहिले संघ सरकारले बजेट बनाउँदै छ। यही वर्ष बजेट नहाले ढिलाे हुन्छ । त्यसैले अर्थमन्त्रीसँग आग्रह गरेर आएकाे छु ।´

उहाँ पाेखरालाई पर्यटकीय राजधानी घाेषणाकाे माग राखेर आउनुभएको छ । `पाेखरा पर्यटनकाे राजधानी हाे । माैखिक रुपमा सबैले भनेका छन्, तर आधिकारिक घाेषणा किन नगर्ने ?´ उहाँ भन्नुहुन्छ, `यसपालि नीति तथा कार्यक्रममा याे एजेण्डा राख्नुपर्छ भनेकाे छु । सायद सम्बाेधन हुन्छ ।´

पोखरा महानगरपालिकाको करिब ५ हजार मत गणना नसकिँदै मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यको विजयको टुङ्गो लागिसकेको छ।

पछिल्लो मत परिणाम अनुसार मेयरमा आचार्यले ५६ हजार ४७१ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी नेकपा एमालेका ५१ हजार १८५ मत प्राप्त गरेका कारण आचार्यले स्वतः जित निकालिसक्नु भएको छ । महानगरमा कुल ५ हजार १५ मत गणना गर्न बाँकी हुँदा मेयरमा आचार्य ५ हजार २ सय ८६ मतान्तरसहित अगाडि हुनुहुन्छ ।

यसै गरी मेयरमा राप्रपाका शंकर खरालले ५ हजार ५७९ मत प्राप्त गर्दा लौरो चिन्हबाट चुनाव लड्नुभएका स्वतन्त्र उम्मेदवार खडकराज (गनेस) पौडेलले २ हजार ९८६ मत प्राप्त गर्नुभएको छ ।

उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ विजयको नजिक हुनुहुन्छ । उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेस की कोपिला रानाभाटलाई ४ हजार ३५ मतान्तरले पछि पार्दै गुरुङ विजय नजिक पुग्नुभएको हो । गुरुङले ५८ हजार ५८२ मत प्राप्त गर्दा रानाभाटले ५४ हजार ५ सय ४७ मत प्राप्त गर्नुभयो । उपमेयर पदमा राप्रपाकी रञ्जना कुमारी सेन पौडेलले ५ हजार ५ सय ८१ मत प्राप्त गर्नुभएको छ ।

दुई लाख सात हजार ७१२ मतदाता रहेको पोखरा महानगरमा १ लाख ४३ हजार २ सय २८ मत खसेकोमा हालसम्म १ लाख ३८ हजार २ सय ११ मत गणना भइसकेको छ ।

पोखरा महानगरका ३३ वटा वडा मध्ये गणना गर्न बाँकी रहेका वडा नम्बर २२, ३२ र ३३ को मत गणना अन्तिम चरणमा पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button