पोखराका यी ३ ठाउँमा स्मार्ट चार्जिङ स्टेसन बन्ने

विद्युतीय गाडी प्रयोगमा जोड दिन आग्रह

पोखरा । नेपाल विद्युत प्राधिकरणले पोखराको लेकसाइड, टुरिस्ट बसपार्कसहित ३ ठाउँमा स्मार्ट चार्जिङ स्टेसन बनाउने भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग हालै भएको भेटमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस्तो जानकारी गराएका हुन् ।

मुख्यमन्त्री पोखरेलसँग घिसिङले अब सरकारी कार्यालयहरुमा विद्युतीय गाडी प्रयोगमा जोड दिन आग्रह गरे । प्राधिकरण पोखराको लेकसाइड, टुरिस्ट बसपार्कसहित ३ ठाउँमा स्मार्ट चार्जिङ स्टेसन बनाउन लागेको भन्दै उनले स्वदेशको बिद्युत खपत बढाउन, इन्धन आयात कम गर्न र सस्तोमा गाडी चढ्ने अवस्थाका लागि विद्युतीय गाडी प्रयोगमा जोड दिएका हुन् ।

गण्डकी प्रदेशको राजधानी पोखरामा बिजुलीको लाइन अन्डरग्राउन्ड गर्न पहिलो चरणमा लेखनाथ सबस्टेसनबाट पोखरासम्म बिजुलीको लाइन अन्डरग्राउन्ड गर्ने प्रदेश सरकार र पोखरा महानगरपालिकाको सहकार्यमा सुरु गरिहाल्ने प्रतिबद्धता समेत उनले जनाए ।

पोखराको बिरौटामा अत्यधुनिक सबस्टेसन बन्न लागेको र त्यसमा सहजीकरण गरिदिन उनले प्रदेश सरकारसँग आग्रह गरेका छन् । अन्तका सबस्टेसनभन्दा फरक डिजाइनमा डोमभित्र सबस्टेसन निर्माण हुने र त्यसले वरिपरिको बस्तीमा केही असर नपार्न कार्यकारी निर्देशक घिसिङले जानकारी गराए । यो सबस्टेसन बनेपछि पोखरामा झ्यापझ्याप बिजुली जाने क्रम रोकिने समेत उनले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button