पोखराको मणिपाल: २५ दिनदेखि बिरामी मर्कामा, ओपिडी ठप्पै पार्ने कर्मचारी चेतावनी

पोखरा । कर्मचारी आन्दोलनका कारण पोखराको मणिपाल अस्पतालको सेवा प्रभावित भएको छ । कर्मचारी युनियन समन्वय समिति मार्फत नेपाली काँग्रेस, नेकपा एमाले र माओवादीनिकट कर्मचारी सङ्गठनले गरेको आन्दोलनका कारण २५ दिनदेखि अस्पतालको ओपिडी सेवा प्रभावित भएको हो । कर्मचारी सङ्गठनहरूले अस्पताल परिसरमा धर्ना दिँदै दिउसो १ बजेसम्म ओपिडी सेवा बन्द गराउँदै आएका छन् ।

विभिन्न माग राखी कर्मचारी सङ्गठनहरू आन्दोलनमा उत्रिँदा सर्वसाधारण बिरामीले लामो समयदेखि सास्ती भोग्नुपरेको छ । उनीहरूको आन्दोलनका कारण ठुलो संख्यामा सर्वसुलभ मूल्यमा स्वास्थ्य सेवा पाउने आसले अस्पताल पुग्ने गरेका बिरामी मारमा परेका छन् । बिहान साढे ८ बजेदेखि सुरु हुने ओपिडी सेवा लामो समय बन्द हुँदा कास्कीसहित छिमेकी जिल्लाहरूबाट उपचारका लागि अस्पताल पुग्ने गरेका बिरामीले समयमै उपचार पाउन सकेका छैनन् । अस्पताल पुगेका केही बिरामीले १ बजेसम्म कुरेर लाइनमा बसेर उपचार गराउने गरेका छन् भने धेरैजसो बिरामीहरू निराश भएर फर्किनुपरेको छ ।

आन्दोलनका कारण सरकारी स्वास्थ्य बिमा गराएका बिरामीहरू झनै ठुलो मारमा परेका छन् । बिमाको कार्ड बोकेर अस्पतालमा पुगेका बिरामीहरू समयमा सेवा पाउनबाट वञ्चित भएका छन् । बिरामीहरूले कि घन्टौसम्म कुरेर लाइन बस्नुपर्छ, कि त बाहिर चर्को मूल्य तिरेर उपचार गर्न तयार हुनुपर्छ ।

बिरामी श्रीमतीको उपचार गराउन बिहान ८ बजे अस्पताल पुगेका पोखरा – २२ पुम्दी भुम्दीका नारान बास्तोलाले अस्पताल बाहिर झन्डै ५ घण्टा बिरामी बोकेर बस्नुपरेको बताए । ‘म बिरामी श्रीमती बोकेर बिहान ८ बजे अस्पताल आइपुगेको हो, स्वास्थ्य बिमा गराएकाले बिमाबाट उपचार होला भनेर आएको एक नबजी टिकट नपाइने भयो । त्यही पनि आज जँचाउन पाइने हो कि होइन थाहा छैन । उपचार भन्ने कुरा पनि यति बजेसम्म हाम्रो आन्दोलन छ, त्यसपछि गर भन्ने हुन्छ र’, बास्तोलाले प्रश्न गर्दै भने । आन्दोलनका नाममा बिरामीलाई दुःख दिनु गलत भएको बताउँदै उनले आन्दोलन गर्नेले निर्दोष बिरामीलाई दण्ड दिने काम गर्न नहुने र अस्पताल प्रशासनले पनि कर्मचारीका जायज माग भए समयमै पुरा गरिदिनुपर्ने बताए ।

तनहुँबाट बिरामी आमा बोकेर शुक्रवार मणिपाल आइपुगेका गणेश भण्डारीले शुक्रवार र शनिबार उपचार गराउन पाएनन् । आइतबार पनि अस्पतालको समस्याका कारण आमाको उपचार गराउन नसकेका उनी सोमबार २ बजेपछि उपचार प्रक्रिया अघि बढाउन लागि परेका थिए । ‘म अस्पतालमा आमाको उपचार गर्न भनेर आएको चार दिन भयो, आन्दोलनका कारण मैले मेरो आमाको उपचार राम्रोसँग गराउन पाएको छैन । दुई बजेसम्म आन्दोलनले ठप्प हुन्छ त्यसपछि घरी सर्भर चल्दैन, घरी के हुन्छ, हामी जस्ता सर्व साधारणको मर्का कसले बुझिदिने’, भण्डारीले दुखेसो व्यक्त गर्दै भने ।

नातिको उपचार गर्न स्याङ्जाबाट आएका चूडामणि अर्याल आफू बिहानै ७ बजे देखि नै बिरामी नाति लिएर बसेको भए पनि उपचार हुने नहुनेमा दुबिधा रहेको बताए । ‘अघिल्लो पटक जहान बिरामी हुँदा यहीँ लिएर आउँथे ठिक हुन्थ्यो , अहिले बिरामी नाति बोकेर आए कुन बेला ओखती हुने हो पत्तो छैन,’ अर्यालले भने । अन्त धेरै पैसा लाग्ने हो कि भनेर टिकट खुल्ने समय कुरेर बसेको उनले बताए ।

प्रशासनले बेवास्ता गरे भोलिदेखि ओपिडी ठप्प पार्ने चेतावनी

चार महिनाअघि देखि अस्पताल प्रशासन शाखा, मानव संसाधनसहित डिनको कार्यालयमा तालाबन्दी गर्दै मणिपालमा हुने पठनपाठनसमेत ठप्प पारी ओपिडी सेवा आंशिक बन्द गराउनेसम्मका गतिविधि गर्दै आएका कर्मचारीले सोमबार आफ्ना मागको सुनुवाइ नगरे मंगलबारबाट ओपिडी सेवा ठप्प पारी आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

अस्पताल प्रशासनले लामो समयदेखि कर्मचारीलाई सेवा-सुविधाबाट वञ्चित गर्दै आएको र विभिन्न समयमा भएका सम्झौताको कार्यान्वयन नभएकाले दबाब दिन बाध्य भएर आन्दोलन गर्नुपरेको मणिपाल स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष नवराज भण्डारीले बताए ।

अस्पताल प्रशासनले कर्मचारीहरूलाई किरिया बिदा नदिएको, सुत्केरी र स्याहार बिदा नदिएको, सन् २०१० मा कर्मचारी सङ्गठनहरूसँग गरेको सहमति कार्यान्वयन नगरेको, सञ्चित बिदा र अतिरिक्त ड्युटीबापतको रकम नदिएको, उपदान नदिएको र समय अनुसार कर्मचारीको तलब वृद्धि नगरेका कारण आफूहरू आन्दोलनमा उत्रिनुपरेको उनले बताए।

सामाजिक सुरक्षा कोष लागू गरेको भनेर अस्पताल प्रशासनले भने पनि अहिलेसम्म नभएको भण्डारीले बताए। आफूहरूलाई प्रशासनले आज सोमबार वार्ताका लागि बोलाएको बताउँदै भण्डारीले आफूहरूका माग पुरा नगरे मंगलबारबाट ओपिडी सेवा ठप्प पारी आन्दोलन थप सशक्त पार्ने चेतावनी दिए ।

उनले भने, ‘हामी यस अस्पतालमा आबद्ध कर्मचारीहरूले अन्य सेवा यथावत् राख्दै २५० जना जतिले दिनहुँ धर्ना दिँदै दिउसो १ बजेसम्म ओपिडी बन्द गर्दै आएका छौँ । आज हुने वार्तामा सुनुवाइ नभए भोलिदेखि नै हामीले आन्दोलन चर्काउँछौँ, ओपिडी सेवा ठप्प पार्छौँ ।’

नेपाल सरकारको श्रम ऐन पालना गरेका छौँ, कानुन विपरीतका माग पुरा गर्न सकिँदैन : अस्पताल प्रशासन

यता अस्पताल प्रशासनले भने नेपाल सरकारको श्रम ऐन अनुसार नै सबैलाई तलब भुक्तानी दिँदै आएको र सामाजिक सुरक्षा कोष सम्बन्धी नयाँ व्यवस्थालाई समेत लागु गरेको जनाएको छ ।

अस्पतालका प्रशासन प्रमुख भानु भारद्वाजले अघिल्लो श्रम ऐनका आधारमा सन् २०१० मा भएको सम्झौताअनुसार कर्मचारीलाई उपदान दिँदै आएको र २०७४ मा नयाँ श्रम ऐन आएपछि त्यसलाई हुवहुँ लागु गर्दै सामाजिक सुरक्षा कोष सम्बन्धी नयाँ व्यवस्थासमेत कार्यान्वयन गरिएको बताए ।

‘कर्मचारीहरूले गरेको मागका सम्बन्धमा जिल्ला प्रशासनले चासो देखाएकोमा प्रशासनलाई अस्पतालका तर्फबाट भएका भुक्तानी र ऐन कार्यान्वयनका सन्दर्भमा समेत स्पष्ट पारिसकेका छौँ, भारद्वाजले भने, ‘नेपाल सरकारका सम्बन्धित फाटका सरोकारवालाहरू र विज्ञसँग समेत छलफल गरेर अस्पतालमा श्रम ऐनको कार्यान्वयन गरी भुक्तानी गर्ने गरेका छौँ ।’

आफूहरू कर्मचारीका जायज मागका सम्बन्धमा सधैँ सकारात्मक रहेको उल्लेख गर्दै उनले समस्याको हल वार्ता मार्फत नै गर्न र बिरामीले उपचार पाउने तथा विद्यार्थीले पढ्न पाउने अधिकारबाट वञ्चित नगर्न आग्रह गरे । नयाँ श्रम ऐन आएर कार्यान्वयन भएपछि पनि कर्मचारीले पुरानै ऐनअनुसार दोहोरो सुविधा माग्दा समस्या देखिएको उनले बताए ।

अस्पताल प्रशासनका अनुसार कर्मचारीको आन्दोलनका कारण दिनहुँ पाँच सय भन्दा बढी बिरामी उपचार नपाइ फर्किएका छन् भने शिक्षण अस्पतालमा विभिन्न तहमा अध्ययन गरिरहेका ७ सय भन्दा बढी विद्यार्थीहरू प्रभावित भएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button