तनहुँको शुक्लागण्डकी नगरपालिकामा अब पारदर्शी भित्तो

तनहुँको शुक्लागण्डकी नगरपालिकाले पारदर्शी भित्तो स्थापना गरेको छ ।

स्थानीय तह निर्वाचनबाट निर्वाचित भएको एक सय दिनको अवसर पारेर नगरपालिकामा आइतबार पारदर्शी भित्तो राखिएको हो । नगरमा सुशासन कायम गराउने उद्देश्यसहित पारदर्शी भित्तो स्थापना गरिएको नगरप्रमुख कृष्णराज पण्डितले जानकारी दिनुभयो । “नगरपालिकाले गर्ने हरेक गतिविधि नगरवासीले थाहा पाउनुपर्छ । यही जानकारी गराउन पारदर्शी भित्तो राखिएको हो ।

हामी जनताका सेवक हौँ, हामीले गर्ने हरेक काम जनताले थाहा पाउनुपर्छ, यहाँ लुकाउने, ढाट्ने, छल्ने कुरा हुँदैन”, उहाँले भन्नुभयो, “नगरपालिकाले के गरेको छ, भावी योजना के छन्, नीति र निर्णय के भएका छन् भनेर स्पष्ट थाहा पाउन सहज होस् भनेर पारदर्शी भित्तो राखेका हाँै ।”

निवेदन दिएपछि मात्रै सूचना दिने प्रचलनको अन्त्य गर्न पारदर्शी भित्तो सञ्चालनमा ल्याइएको उपप्रमुख खुमबहादुर विकले जानकारी दिनुभयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाबल्लभ न्यौपानेले नागरिकलाई सूचना प्रदान गर्न पारदर्शी भित्तो महत्वपूर्ण हुने बताउनुभयो ।

पारदर्शी भित्तोमा नगरपालिकामा हुने दैनिक सूचना, कार्यक्रम, मासिक आयव्यय विवरण, अन्य बैठकका निर्णयहरु, लेखापरीक्षणको प्रतिवेदन, नगर सभा, कार्यपालिकाको बैठकका निर्णय र विविध सूचना प्रकाशित गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button