बन्दीपुरमा केबलकारसहित पाँचतारे होटलको निर्माण कार्य तीव्र

बन्दीपुरमा पाँच तारे होटल सहितको केबलकार निर्माण तीव्र गतिमा अघि बढेको छ । कोभिडका कारण केही समय काम प्रभावित भए पनि पछिल्लो समयना उक्त योजनाले उल्लेख्य गति लिएको हो ।

बन्दीपुरको पर्यटनलाई थप प्रबर्द्धन गर्ने माध्यम केबलकार पनि बन्न सक्ने विश्वासका साथ उक्र परियोजना अघि बढाइएको छ । पाँचतारे होटलसहित निर्माण भइरहेको परियोजनाको काम हालसम्म ७५ प्रतिशत सकिएको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले जनाएको छ ।

विसं २०७५ साउनदेखि निर्माण सुरु भएको केबलकार परियोजना विभिन्न कारणले ढिलाइ हुँदै आएको लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले बताउनुभयो । “दुई वर्ष त कोभिड–१९ र बन्दाबन्दीका कारण परियोजनाको काम नराम्ररी प्रभावित भयो”, उहाँले भन्नुभयो, “त्यसयता पनि निर्माण सामग्री समयमै आउन नसक्दा काम ढिलाइ हुँदै आयो । अहिले तीव्ररुपमा काम अगाडि बढेको छ ।”

उहाँका अनुसार यतिबेला केबलकार परियोजनाको काम द्रुत गतिमा अगाडि बढाइएको छ । केबलकार आगामी नयाँ वर्षदेखि सञ्चालनमा ल्याउने गरी काम थालिएको शर्माले बताउनुभयो । “विसं २०८० वैशाख १ गतेदेखि केबलकार सञ्चालनमा आउँछ, केबलकारको टावर जडान सुरु भएको छ”, उहाँले भन्नुभयो ।

केबलकार र होटलको क्षमता बढेकाले लगानी पनि वृद्धि भएर रु दुई अर्ब ६० करोड पुगेको छ । यसअघि केबलकारको क्षमता प्रतिघण्टा ३०० रहेकामा त्यसलाई बढाएर ५०० पुर्याइएको छ । होटलको कोठा सङ्ख्या ६६ रहेकामा त्यसलाई बढाएर ८७ पुर्याइएको छ । दश तल्लाको होटलसहितको भवनमा आधुनिक भ्युटावर, बेनक्युट हल र ८० कोठाका स्तरीय होटल निर्माण हुनेछ ।

होटलको पूर्वाधारको काम सकिएको र सजावटको काम बाँकी रहेको शर्माले बताउनुभयो । कम्पनीले केबलकारभित्रै रेष्टुरेन्ट सञ्चालनको तयारीसमेत गरेको छ । साँझ ५ बजेपछि केबलकारभित्रै रेन्टुरेन्ट सञ्चालन हुनेछ । एक घण्टाको रु २५ हजार शुल्क तिरेपछि रु १०-१५ हजार बराबरको खानाको सुविधा पनि दिइने जनाइएको छ ।

“केबलकारभित्र रेष्ट्रोको सुविधा प्रत्येक आकर्षण र हट प्रडक्ट बन्छ, प्रत्येक दिनको अफ आवर साँझ ५ बजेदेखि ९ बजेसम्म यो सेवा दिने तयारीमा छौँ”, शर्माले भन्नुभयो । उहाँका अनुसार तल्लो र माथिल्लो स्टेशनमा रेष्टुरेन्ट हुने भएकाले रेष्ट्रो प्याकेजमा सेवा दिन सक्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button