अस्ट्रेलियाले ठूलो संख्यामा बढायो स्थायी आप्रवासीको कोटा

अस्ट्रेलियाले स्थायी आप्रवासनका लागि विदेशीका लागि छुट्याइएको कोटामा भारी वृद्धि गरेको छ ।

श्रमशक्तिमा ठूलो कमी आएसँगै अस्ट्रेलियाले विदेशी आप्रवासीका लागि छुट्याइएको कोटा ३५ हजार बाट बढाएर १ लाख ९५ हजार पुर्याएको छ । सन् २०२३ को जुन महिना अघिसम्मका लागि यो कोटा मान्य रहने जनाइएको छ । अस्त्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले करिब एक साता अघि भएको रोजगार एवम् सीप सम्मेलन मार्फत व्यवसायिक सीप सिकाईका लागि आउँदो वर्ष १ लाख ८० हजार कोटा खाली हुने जनाउनुभएको थियो ।

सम्मेलनमा त्यहाँकी गृहमन्त्री क्लेर ओ नीलले अस्ट्रेलियामा कामदारको अभावमा नर्सले दैनिक २-३ सिफ्टसम्म काम गर्नुपरेको, ग्राउन्ड स्टाफ नहुँदा उडान रद्द गर्नुपरेको, फलफुल बोटमै कुहिन थालेको जस्ता समस्या देखा परेको औल्याउनु भएको थियो । उनले उत्कृष्ट विद्यार्थीहरु क्यानडा, जर्मनी, बेलायत जस्ता मुलुक छाडेर अस्ट्रेलिया आउन थालेको पनि जिकिर गर्नुभयो ।

अस्ट्रेलियाले कोरोना महामारीका २० महिनामा निकै कडा आवागमन प्रतिबन्धहरु लगाउँदा त्यहाँ कामदारको निकै चर्को अभाव भएको छ । त्यहाँ हाल बेरोजगारी ५० वर्ष यताकै न्यून दरमा पुगेको छ भने करिब साढे ४ लाख जागिरका पदहरु रिक्त रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button