
आज पोखरासहित देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।
हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित रहेकाले बदलीसँगै वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । विभागका अनुसार आगामी २४ घण्टा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
साथै लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन-चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेकाले वर्षा हुने पहाडी भूभागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको विभागले जनाएको छ । त्यस्तै शनिबार पनि देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ ।
आज पोखराको न्युनतम तापक्रम २१ डिग्री सेल्सियस र अधिकतम तापक्रम ३० डिग्री सेल्सियस रहनेछ ।





