नेता पौडेलको अभिव्यक्तिले गुणादीका युवा आक्रोशित, माफी नमागेसम्म दमौली जाने खानेपानी बन्द

काङ्ग्रेस नेता रामचन्द्र पौडेलको अभिव्यक्तिबाट आक्रोशित तनहुँको म्याग्दे-१ गुणादीका युवाले दमौलीतर्फ जाने पानीको स्रोत बन्द गरिदिएका छन् ।

शुक्रबार दमौलीमा बिपी जयन्तीको उपलक्ष्यमा नेपाली काँग्रेस जिल्ला कार्य समिति तनहुँले गरेको कार्यक्रममा बोल्दै पौडेलले गुणादीको पानी खाएर दमौलीवासी रोगी भइसकेको अभिव्यक्ति दिएका थिए । उनले अहिले मादीको पानी लिफ्ट गरेर दमौलीवासीलाई वितरण गर्न थालेसँगै स्वस्थ खानेपानीको व्यवस्था मिलेको दाबी पनि गरेका थिए ।

यसैको विरोधमा गुणादीका युवाले दमौली लैजाने गरेको पानी स्रोतबाटै बन्द गरिदिएका हुन् । युवाहरुले पौडेलले माफी नमागेसम्म पानी नखोल्ने अडान लिएको विरोध कार्यक्रममा सहभागी युवा अनिल अधिकारीले पोखरा न्युजलाई जानकारी दिए । अधिकारीले दमौलीवासीले विगत ३० वर्ष देखि गुणादीबाटै लगेको पानी खाँदै गरेको अवगत गराउँदै पौडेलको अभिव्यक्तिले गुणादीवासीको भावनामा चोट पुगेको पनि बताए ।

उनले खानेपानी बन्द गरिदिँदा दमौलीवासीलाई पर्न जाने असुविधाप्रति क्षमा माग्दै पौडेलले यथासिघ्र गुणादी आएर आफ्नो अभिव्यक्ति फिर्ता लिने विश्वास आफुले लिएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button