पहिरोको चपेटामा बाग्लुङको रामतोला बस्ती

बिजुली देखि खानेपानीसम्मको अभाव

बाग्लुङ नगरपालिका–११ रायडाँडाको तल्लो रामतोला बस्तीका घर, खरबारी र सुन्तलाको बगानमा समेत चिरा पर्दै पहिरो खसेको छ ।

पहिराले ११ घरका बासिन्दा सात दिनदेखि घरमा बस्न सकेका छैनन् । घरमाथि पहिरो थुप्रिएर बसेको छ भने घरको आँगन चिरिएको छ । केही घरगोठ बगेका छन् भने केही चिरा परेका छन् । पहिराले बग्ने डरले अधिकांश घरका बासिन्दाले घर खाली गरेर अन्यत्र सरेर बसेका हुन् ।

डाँडै पहिरो खसेपछि जोखिममा परेको बाग्लुङ नगरपालिका–११ को रायडाँडास्थित रामतोलामा नगरप्रमुख र उपप्रमुखसहित सुरक्षा निकाय पुगेका छन् । एक साताअघि खसेको पहिरो अनुगमन गरेर बस्तीको सुरक्षाबारे टोलीले योजना बनाउने बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले बताउनुभयो ।

पहिरोले रामतोलाको गैराघर भन्ने स्थानमा एक दर्जन घर जोखिममा परेका छन् । बस्तीमा जोखिम पर्नुका साथै खानेपानी र विद्युत्का पोल पनि बगाएको छ । “पानीका दुईवटा ट्याङ्की नै बगेकाले खानेपानीको हाहाकार छ”, स्थानीय ढालनाथ शर्माले भन्नुभयो, “हामी त घर न घाटको भएका छौँ, अब कहाँ बस्ने, के खाने ?”

उहाँले दुःख गरेर बनाएको घरगोठ भत्केपछि नयाँ बनाउने चिन्ताले सताएको बताउनुभयो । उहाँले अनुगमन टोलीसँग पनि रुँदै आफ्नो दुःखेसो पोख्नुभयो । जिल्ला दैवीप्रकोप उद्धार समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी रमेश ढकालले पनि पहिरो अनुगमन गर्नुभएको छ । टोलीमा समितिका अन्य पदाधिकारी तथा सुरक्षा प्रमुखहरू थिए ।

पहिराले दुईवटा खानेपानीका ट्याङ्की बगाएपछि सात दिनदेखि तल्लो रामतोला बस्तीमा खानेपानीको अभाव भएको हो । बिजुली नभएपछि स्थानीयले झाडी फाँडेर नयाँ पोल गाड्ने र तार टाँग्ने काम गरिरहेका छन् । यहाँका दर्जनौँ विद्युत्का पोल ढलेकाले जतासुकै तार लत्रेको देख्न सकिन्छ । तल्लो रामतोला सातादेखि अन्धकार रहेको स्थानीय नन्दकली केसीले बताउनुभयो ।

“अहिले टोली आएको छ भनेर घरमा आइयो, नत्र हामी गाउँ छाडेर बसेका छौँ”, केसीले भन्नुभयो, “अनुगमन आएका टोली देख्दा रमाइलो लाग्यो, नत्र रित्तो घरमा आउन मनै लाग्दैन ।” रायडाँडाको तल्लो रामतोला बस्तीका घर, खरबारी र सुन्तलाको बगानमा समेत चिरा पर्दै पहिरो खसेको थियो । पहिराले ११ घरका बासिन्दा सातादेखि घरमा बस्न सकेका छैनन् ।

केही घरगोठ बगेका छन् भने केही चिरा परेका छन् । पहिराले बग्ने डरले अधिकांश घरका बासिन्दाले घर खाली गरेर अन्यत्र सरेर बसेका हुन् । दशकअघि खुलेको सडकको ट्रयाक र खरबारीमा रहेका पानीका ट्याङ्कीबाट रसाएको पानीले पहिरो खसेको स्थानीयले अनुमान गरेका छन् । अनुगमन टोलीले पनि पानीकै कारण पहिरो खसेर बगेको अनुमान लगाएका छन् ।

पहिरो झरेको साता बित्दा पनि पहिरो निरन्तर खसेको छ । निरन्तर खसेकोले आसपासमा पुग्न पनि जोखिम छ । पहिराले जैमिनी नगरपालिका–१ को ओडारका घरमा पनि जोखिम बनाएको छ । नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बस्तीलाई सुरक्षित स्थानमा राख्न सके राम्रो हुने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले एकीकृत बस्तीको अवधारणा ल्याएर बस्ती सार्न सके राम्रो हुने धारणा राख्नुभएको छ । यसका लागि पहल गर्न उहाँले वडाध्यक्षलाई आग्रह गरेको बताउनुभयो ।

एकीकृत बस्ती बनाउन सकेमा खानेपानी, विद्युत् र अन्य सेवा जडानमा सहज हुने जनाइएको छ । निरन्तर पहिरो खसिरहेकाले उक्त बस्तीमा सहजै बस्न सकिने अवस्था छैन । पहिरो नियन्त्रण गर्ने अवस्था नभएको प्राविधिकको सुझाव छ । “पहिरो नियन्त्रणमा लाग्नुभन्दा बस्ती नै सार्दा सजिलो र सुरक्षित होला”, इञ्जीनियर त्रिलोचन गिरीले भन्नुभयो, “यो पहिराले माथिल्लो बस्तीमा पनि जोखिम बढाएको छ ।” पानी परेमा पहिरो झनै बढ्न सक्ने उहाँले बताउनुभयो ।

विस्तारै खसेकाले समयमा घरपरिवार सार्न सकिए पनि पुनः घर फर्कने वातावरण बनाउन कठिन हुने उहाँले बताउनुभयो । “सात–आठ घर त पहिरो खस्दा खस्दै सार्न लगायौँ, उहाँहरु अहिले सुरक्षित स्थान खोजेर बस्नुभएको छ”,उहाँले भन्नुभयो, “पहिराले निरन्तर दबाब दिएर बस्तीमा चिरा परेको छ ।”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button