
कार्गो कम्पार्ट्मेन्टमा धुँवा देखिएपछि जापान उडेको नेपाल वायुसेवा निगमको जहाज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नै फिर्ता भएको छ ।
आरए ४३३ कल सिग्नल रहेको उक्त विमान १ सय ८४ यात्रु लिएर नारिताका लागि गए राति १०:५८ बजे उडेको थियो । तर ककपिटमा विमानमा धुँवा रहेको संकेत देखिएपछि उडानदलका सदस्यले विमानलाई नेपालको आकाशबाटै फिर्ता ल्याएर अवतरण गराएका थिए । विमान नेपाली समय अनुसार ११:४७ बजे अवतरित भएको थियो ।
नेवानिको अर्को विमान स्ट्याण्डबाई नहुँदा मङ्गलबारको रात यात्रीहरुलाई काठमाडौंको होटलमा राखिएको छ । बुधबार बिहान ९ बजे सोही विमान मर्मत गरेर उडान गर्ने तयारी रहेको विमानस्थल स्रोतले जनाएको छ । विमान आजै जापानबाट फर्कने तालिका रहेको छ ।





