बाग्लुङमा पुसभित्रै शुद्ध खानेपानीको व्यवस्था हुने

अशुद्ध र अपर्याप्त खानेपानीको समस्या भोग्दै आएको बाग्लुङ बजारवासीले आगामी पुसभित्रै शुद्ध खानेपानी पाउने भएका छन् ।

बर्खाको समयमा बाग्लुङ बजारमा धमिलो दूषित पानी वितरण भइरहँदा यहाँका नागरिक खानेपानी वितरणको जिम्मा पाएको बाग्लुङ नगर खानेपानी तथा उपभोक्ता संस्थाप्रति आक्रोशित छन् । अहिले बाग्लुङ बजारमा मागको आधा मात्रै पानी बाग्लुङको काठेखोला गाउँपालिकास्थित रेश र लेखानी खोलाबाट ल्याइएको छ ।

तर टाढाबाट पानी ल्याउँदा पहिराका कारण पानीको वितरणसमेत अनियमित हुने र बर्खाको समयमा हप्तौँसम्म खानेपानी वितरण नहुँदा खानेपानीको हाहाकार हुँदै आएको छ । अहिले वितरण भइरहेको खानेपानीको प्रशोधन गृह छैन सोही कारण सोझै मुहानको पानी वितरण गर्दा पानीमा कोलिफर्म भेटिरहने परीक्षणका क्रममा पाइएको छ । बाग्लुङ बजारको खानेपानी समस्या आजको भने हैन, वर्षौदेखिको हो ।

ठूलो लिफ्ट आयोजना २०७५ असारदेखि निर्माण थालिएको हो । आयोजनाले बजारमुनि रहेको काठेखोलाको पानी लिफ्टमार्फत रातमाटामा तानेर शुद्धिकरण गरेर वितरण गर्नेछ । ढिलोगरी निर्माण भइरहेको लिफ्ट खानेपानी आयोजनाको काम पछिल्लो समय भने द्रुत गतिमा छ । बाग्लुङ नगर खानेपानीको नयाँ लिफ्ट आयोजना सम्पन्न सँगै शुद्धिकरण गरेको पानी वितरणको तयारीमा नगर खानेपानी छ ।

पुसमा परीक्षणको पानी बाग्लुङ बजारमा पुर्याउने निर्माण व्यवसायीको लक्ष्य छ । अहिले पूर्वाधारको काम सम्पन्न भइसकेको र मोटर जडानका लागि विद्युतीकरण गर्ने काम भइरहेको इन्जिनियर विक्रम अधिकारीले बताउनुभयो । “थप गरेको म्याद माघ मसान्तसम्म मात्रै छ, लगभग श्रमिकको काम सम्पन्न भइसकेको छ, अबको काम प्राविधिकको मात्रै छ, पानीको पाइपलाइन विस्तारको तयारी छ भने विद्युत्का लागि ट्रान्सफर्मर आइसकेको र विद्युत् लाइनसमेत विस्तारको काम भइरहेको छ,” उहाँले भन्नुभयो, “आउन बाँकी मोटर मात्रै हो, मोटर जोड्नका लागि कात्तिकसम्म समय लाग्छ ।”

मोटर सञ्चालनका लागि ६३० केभिएको ट्रान्सफर्मरसमेत आइसकेको छ । काठेखोलाको पानी शुद्धिकरण गरेर लिफ्टमार्फत बागलुङ बजार ल्याउने आयोजनाको काम अन्तिम चरणमा छ । निर्माण व्यवसायीका अनुसार योजनाको प्रगति ८५ प्रतिशत पूरा भएको छ । खानेपानीको समस्या भएपछि बागलुङ बजारका उपभोक्ता पानी ल्याउन उपल्लाचौरको अम्बोट, तित्याङ र सुलडाँडा पुग्ने गरेका छन् ।

अधिकतम प्रयास गर्दा बाग्लुङ बजारवासीलाई वितरण गरेको पानीमा केही सुधार आए पनि शुद्धिकरण नै गरेको पानी नयाँ आयोजना सम्पन्न नहुँदासम्म खुवाउन समस्या हुने बाग्लुङ नगर खानेपानी तथा उपभोक्ता संस्थाका प्रबन्धक हिमालप्रसाद शर्माले जानकारी दिनुभयो । बाग्लुङ नगरपालिका–३ काठेखोलामा निर्माणाधीन खानेपानी आयोजनाको काम निर्माण सुरु भएको चार वर्षमा बल्ल अन्तिम चरणमा छ ।

नगरपालिकामा चौबिसै घण्टा शुद्ध खानेपानी वितरण गर्ने उद्देश्यले खानेपानी तथा ढल व्यवस्थापन विभाग र स्थानीय साझेदारीमा चार वर्षअघि आयोजना सुरु भएको थियो । दुई वर्षमा सम्पन्न गर्ने गरी २०७५ असारमा रु ३२ करोड २५ लाखको लागतमा कन्काई जयमाता जेबीले ठेक्का सम्झौता गरी निर्माण थालेको थियो । कोरोना र आयोजना निर्माण स्थलमा भौगोलिक बनावट कमजोर भएका कारण निर्माणमा ढिलाइ भएको निर्माण व्यवसायीको भनाइ छ ।

काठेखोलाको पानी पाँचवटा समवेयलमार्फत आयोजना स्थलमा खानेपानी सङ्कलन र प्रशोधनपश्चात् खानेपानी रातमाटा पुर्याइनेछ । बाग्लुङ बजारमा काठेखोला गाउँपालिकाको रेश, भूदी र रिठेखोलाको पानी वितरण हुँदै आएको छ । नगरपालिकाको जनसङ्ख्या वृद्धि भएपछि खानेपानीको समस्या बढ्दै जाँदा काठेखोलाको पानी लिफ्टमार्फत तानेर प्रशोधन गरी वितरण गर्ने उद्देश्य यस आयोजनाको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button