लमजुङमा बढ्यो सवारी भाडा, यस्तो छ विभिन्न गन्तव्यको नयाँ भाडादर

लमजुङमा दुई वर्षपछि यात्रुवाहक सवारी साधनहरुको नयाँ भाडा दर लागु भएको छ । जिल्ला भित्रका अस्थायी मार्ग तथा भाडादर निर्धारण समितिको निर्णयानुसार जिल्ला भित्रका सवै सडकहरुमा नयाँ भाडा दर कायम कायम गरेको हो ।

जिल्लामा पछिल्लो समय पेट्रोलियम पदार्थको मुल्यवृद्धि भएसँगै नयाँ भाडादर कायम गरिएको प्रजिअ सुशील वैद्यको भनाइ छ । यातायात सञ्चालन भइरहेका कतिपय सडकहरूमा भाडा दर निर्धारण हुन नसकेपछि बढी भाडा लिइरहेको गुनासो बढेको थियो ।

गुनासो आएपछि स्थानीय प्रशासनले सरोकारवालाहरुसँग समन्वय गरि भाडा दर कायम गरेको हो । नयाँ भाडा दर आगामी असोज १ अर्थात शनिबार देखि कार्यन्वन गर्न समितिको बैठकले सम्बन्धित सरोकारवालाहरुलाई निर्देशन दिएको छ ।

बैठकले सदरमुकाम बेसीशहर देखि राजधानी काठमाडौं सहित पोखरा, चितवन, वीरगन्ज, सुनौली लगायत अन्य जिल्लाका लामो दुरीका सार्वजनिक यातायात र जिल्ला भित्रका ग्रामीण सडकहरुमा समेत नयाँ भाडा दर निर्धारण गरेको हो ।

सदरमुकाम बेसीशहर देखि लामो तथा छोटो दुरीका गरी एकसय ३३ गन्तव्यहरुमा नयाँ भाडा दर निर्धारण गरेको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ । नयाँ भाडा दर अनुसार न्युनतम २५ रुपैया देखि जिल्ला भित्रका लागी सातसय ६० रुपैया सम्म कायम भएको छ ।

जिल्ला भित्र सवैभन्दा बढी भाडा पाउदी देखि दुधपोखरीको भुम्लीचोक सम्म सातसय ६० रुपैया कायम भएको छ । जिल्ला बाहिर मनाङ सदरमुकाम चामे सम्म एकहजार पाँचसय र सुनौली सम्मका लागि नौसय, वीरगञ्जका लागि ८ सय ५० कायम भएको छ । त्यसैगरी काठमाडौंका लागि माईक्रोमा सात सय १० र ठूलो बसमा ६ सय ५० नयाँ भाडादर कायम भएको छ ।

पोखराको लागि पाँचसय रुपैया, नारायणगढका लागि माईक्रोमा चारसय ७५, ठूलो बसमा चारसय रुपैया कायम भएको छ । जिल्लाकै पुरानो सदरमुकाम कुन्छा देखि काठमाडौंसम्मको माईक्रो भाडा भने आठसय रुपैया कायम भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button