घान्द्रुकमा बौद्धमार्गीका लागि विद्यालय निर्माण हुने

कास्कीको अन्नपूर्ण गाउँपालिका ११ घान्द्रुकस्थित ओप्लेंमा बौद्धमार्गीहरुका लागि (पाल डाकार छ्योईदुब लीङ) विद्यालय निर्माण हुने भएको छ ।

अन्नपूर्ण गाउँपालिका ११ ओप्लेंमा करिब ४ करोडको लागतमा निर्माण हुने भएको हो । सो विद्यालय आगामी २ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरि काम अगाडी बढाइने पाल ङाग्युर सङासङाग् छोइलिङ गुम्बा सराङ्कोटका धर्मगुरु गुप्ती गुरुङले जानकारी दिए । उनका अनुसार १० रोपनीको क्षेत्रफलमा विद्यालय निर्माण हुनेछ ।

विद्यालयसँगै सग्रहालय, चमेना गृह, छात्राबास, किचन तथा डाइनिङ हल, (छम) गुफा बस्ने कुटी, मेडिटेशन र पुजा गर्ने हल र स्टुपासमेत निर्माण हुनेछ । गुप्ती गुरुङको अगुवाईमा निर्माण हुने विद्यालयका लागि अन्नपूर्ण गाउँपालिका ११ ओप्लेंका स्वर्गिय चन्द्रसिङ गुरुङ, लटे गुरुङको स्मृतिमा कुलबहादुर गुरुङ, रुपकुमारी गुरुङ, खुसीमान गुरुङ, चन्द्र गुरुङ र हङ्कङ निवासी विश्वसम गुरुङको सपरिवारले १० रोपनी निशुल्क जग्गादान गरेको समाजसेवी अमृत लामा गुरुङले बताए ।

‘सामाजिक मात्रै नभई धार्मिक काममा आफ्नो जग्गा दान गर्नु सामान्य विषय होइन, उनले भने, ‘उहाँहरुले पाल डाकार छयोईदुब लीङ विद्यालयका लागि १० रोपनी जग्गा दान दिनुभएको छ । यो एउटा उदाहरणीय कार्य हो ।’ सो विद्यालयको निर्माणको जिम्मा लिएका धर्मगुरु गुरुङले मानव जातिबीचको एकताले नै मानवता कायम हुने धारणा राखे । ‘मानिस मरेर गए भएको सम्पत्तीसँगै लैजान सक्दैन । मानवचोला सफल हुन सहयोगी हुनुपर्छ ।

मानवजातिको उत्थानका लागि शान्ति स्थापना हुनुपर्छ, उनले भने, ‘सबै मानवजाति एक भए मात्र मानवता कायम हुन्छ । सबै मानव एक हौं भन्ने सन्देश दिन विद्यालयको स्थापना गर्न लागेको हो ।’ उनले घान्द्रुक पर्यटकको केन्द्रविन्दु भएको बताउदै विद्यालयले पर्यटन क्षेत्रमा थप महत्वपूर्ण योगदान खेल्नेसमेत बताएका थिए ।

घान्द्रुकको विकासमा शिक्षाको फरक योगदान रहनेछः पूर्वराज्यमन्त्री गुरुङ

अन्नपूर्ण गाउँपालिका ११ ओप्लेंमा निर्माण हुने बौद्ध विद्यालयको बिहिबार शिलान्यास पूर्वराज्यमन्त्री प्रकाशबहादुर गुरुङले पर्यटन क्षेत्रको विकाससँगै शैक्षिक क्षेत्रमासमेत सहयोग पुग्ने बताए ।

‘घान्द्रुक पर्यटन क्षेत्रको केन्द्रबिन्दु भएपनि विद्यार्थीहरु बौद्ध शिक्षा गाउँमा नै अध्ययन गर्ने वातावरण छैन, उनले भने, ‘त्यसकारण बौद्ध शिक्षाको लागि शहर झर्ने क्रमलाई पाल डाकार छयोईदुब लीङ विद्यालयले रोक्नेछ ।

उनले पछिल्लो समय विश्वमा अहिंसा बढ्दै गएको बताउदै बौद्ध धर्मको महत्व बढ्दै गएको उल्लेख गरे । ‘विश्वमा नै अहिंसा बढ्दै छ, सबैलाई शान्ति चाहन्छ त्यसैले बौद्ध धर्म र शिक्षाको महत्व बढ्दै छ, शान्तिबाट नै सबैको महिमा कायम हुन्छ ।’ पूर्वराज्यमन्त्री गुरुङले भने ।

त्यस्तै अन्नपूर्ण गाउँपालिका ७ का वडाध्यक्ष भरतमान गुरुङले बौद्ध विद्यालयको निर्माणले घान्द्रुकको विकासमा थप मद्दत पुग्ने बताए । ‘समाज परिवर्तन गर्न शिक्षाको महत्वपूर्ण भुमिका रहन्छ । हत्या हिंसाले समाज परिवर्तन हुदैन शान्ति स्थापना गर्न सके मात्र समाजको विकास हुन्छ, उनले भने, ‘त्यसैले शान्ति पाउन बौद्ध ज्ञान अनिवार्य छ ।’

सो विद्यालय निर्माणका लागि तमु प्हे ल्हु संघका भुतपूर्व अध्यक्ष क्याप्टेन रुपबहादुर गुरुङले शुभकामना मन्तव्य व्यक्त गर्दै ५० हजार ५ सय ५ रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button