भारतका घुमन्ते कामदारका कारण नेपालका फर्निचर उद्योगी मर्कामा

भारतीय घुमन्ते कामदारका कारण यहाँका फर्निचर उद्योगी मारमा परेका छन् । छिमेकी मुलुक भारतबाट आएका कामदारले घर घरमै फर्निचर निर्माणको सेवा दिने गरेकाले स्याङ्जाका फर्निचर तथा फर्निसिङ उद्योगी मारमा परेका हुन् ।

आफूहरुले उद्योग दर्ता गरी नेपाल सरकारलाई राजस्व बुझाउँदै आएको तर यहाँ विनादर्ताका भारतीय कामदारका कारण उद्योग सञ्चालनमा समस्या भएको वालिङस्थित बाबा फर्निचर उद्योगका सञ्चालक ओमप्रसाद शर्माले गुनासो गर्नुभयो ।

घुमन्ते भारतीय कामदारलाई पनि करको दायरामा ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो । “भारतबाट आएका घुमन्ते कामदारलाई यहाँ काम गर्न पाउन्नौँ भन्न खोजिएको होइन”, उहाँले भन्नुभयो, “कि त उनीहरुले पनि व्यवसाय दर्ता गरेर करको दायरामा आउनुपर्यो कि त हामी उद्योगीले काम दिन्छौँ यिनै उद्योगहरुमार्फत काम गर्नुपर्यो ।”

सीप भएका नेपाली युवा शक्ति विदेश पलायन हुने र भारतीय कामदारले उद्योगमा काम नगरी घुमन्ते व्यवसाय गरिदिँदा केही उद्योग बन्द भइसकेका छन् भने केही बन्द हुने अवस्थामा पुगेको उहाँ बताउनुहुन्छ ।

भारतबाट आई घुमन्ते कामदारले जिल्लाका फर्निचर तथा फर्निसिङ उद्योगी व्यवसायी मारमा परेको गुनासो आएपछि यसको समाधानका लागि फर्निचर तथा फर्निसिङ व्यवसायी सङ्घले पहल गरिरहेको सङ्घका जिल्ला अध्यक्ष गुप्तप्रसाद गैह्रेले बताउनुभयो ।

उनीहरुलाई पनि वैधानिक तरिकाले काम गर्नका लागि वालिङ नगरपालिका तथा वालिङ उद्योग वाणिज्य सङ्घमा पहल गरिदिन माग गरिएको अध्यक्ष गैरे बताउनुभयो ।

“उद्योगी व्यवसायी उद्योग दर्ता गरी करको दायरामा रहेर उद्योग सञ्चालन गर्ने तर घुमन्ते भारतीय कामदारविना दर्ता र राजस्व नै नतिरी काम गर्दा यहाँका उद्योगी मारमा परेका छन्”, उहाँले भन्नुभयो, “घरघरमा गएर सामान बनाउँदा उपभोक्तालाई सस्तोभन्दा पनि उल्टै ठगिने गरेका गुनासो हामीकहाँ आएका छन् ।”

वालिङ उद्योग वाणिज्य सङ्घ तथा वालिङ नगरपालिकामा छलफल भए पनि निष्कर्षमा पुग्न सकेको छैन । काठ चिर्ने मेसिन तथा बिजुलीबाट चल्ने मेसिनरी औजार सुरक्षाका दृष्टिले घरघरमै लगेर चलाउन वैधानिक मानिदैन तर घुमन्ते कामदारले विनाअवरोध चलाउँदै आएका सङ्घका अध्यक्ष गैरे बताउनुहुन्छ ।

“हाम्रा उद्योगीले दक्ष कामदार पाएका छैनन्, उनीहरुले यिनै उद्योगमार्फत काम गरे दुवै पक्षलाई फाइदा हुने थियो”, उहाँले भन्नुभयो, “उपभोक्ता पनि नठगिने र उद्योगी व्यवसायीले बिक्री गरेको सामग्रीको ग्यारेन्टी दिनेछौँ ।”

स्याङ्जा जिल्लाभरि ७२ उद्योगी व्यवसायी सङ्घमा आबद्ध रहेका छन् । नगरपालिकाको पहलमा उद्योगी व्यवसायी तथा कामदारबीच छलफल भएको वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले बताउनुभयो ।

उद्योगी व्यवसायी तथा कामदारको समस्या समाधानका लागि नगरपालिकाले पहल थालेको छ । विनादर्ता सञ्चालन भएका व्यवसायी तथा कामदारलाई कानूनी दायरामा ल्याएर समस्या समाधानका लागि नीतिगत व्यवस्था गरिने उहाँले बताउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button