
चोरी भएको मोटरसाइकल नम्बर प्लेट फेरेर चलाउँदै गरेका एक जनालाई काठमाडौँबाट ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ महानगरपालिका २६ शिव मन्दिर नजिकैबाट शुक्रबार रसुवाको नौकुण्ड गाउँपालिका-३ घर भई हाल काठमाडौँ टोखा बस्दै आएका १९ वर्षीय विजय तामाङ हराएको मोटरसाइकलसहित पक्राउ परेका हुन् । तामाङलाई वास्तविक नम्बर प्लेट बागमती प्रदेश ०२-०२८ प ७७ ८५ लाई परिवर्तन गरी बा ९० प ९० ९२ नम्बर राखी बाइक चलाइरहेको अवस्थामा ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।
उक्त एनएस २०० सिसिको पल्सर मोटरसाईकल उदयपुरको त्रियुगा नगरपालिका-३ घर भई हाल हात्तीगौँडा बस्दै आएका पहल कुमार मगरको रहेको अनुसन्धानबाट खुलेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए । गत भदौ १८ गते काठमाडौँको हात्तीगौडाबाट मोटरसाइकल हराएको भनि मगरले निवेदन दिएका थिए ।
मोटरसाइकलसहित पक्राउ परेका तामाङलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी प्रहरी वृत्त महाराजगञ्ज पठाइएको छ । सवारी साधन हराएको थाहा पाउनासाथ ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गरेर जानकारी दिन सकिने साथै नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने प्रहरीले उल्लेख गरेको छ ।





