गोरखा दरबारको दशैँघरमा विधिपूर्वक जमरा राखियो

गोरखाको कालिका मन्दिरमा रहेको दशैँ घरमा आज विधिपूर्वक जमरा राखिएको छ । बिहान १० बजेर २३ मिनेटको शुभसाइतमा दसै घरमा जौको जमरा राखिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिनुभयो ।

परम्पराअनुसार बिहान सबेरै मिरमिरे उज्यालोमा देवी भगवतीको सवारी गराएपछि बिहानको शुभसाईतमा कालिका भगवतीको मन्दिरमा दुई पाथी र गोरखनाथ गुफामा एक पाथी जौको जमरा राखिएको उहाँले बताउनुभयो ।

मूल दरबारको कैलाश कोठाबाट भित्री बाटो हुदै देवी भगवतीको सवारी गराएर कैलास कोठामा बिधि पूर्वक पूजाआजा गरी जमरा राखिएको र त्यस राख्नुअघि मूलदरबारमा पानी घडी थपना गरी घटस्थापना गरिएको प्रमुख भुसालले जानकारी दिनुभयो ।

गोरखाको गोरखकाली मन्दिरमा जमरा राखेपछि मात्र देशभरका हिन्दुधर्मालम्बीहरुले जमरा राख्छन् भन्ने धार्मिक मान्यता रहदै आएको छ । बडादशैँमा लगाइने टीकासँगै जमरा लगाउँदा शुभ हुने विश्वासका कारण यहाँ प्रत्येक वर्ष जमरा राख्ने गरिन्छ ।

प्रतिपदा शुरु भएसँगै कालिका मन्दिरमा नियमित कालो बोका बलिदिने प्रचलन छ । यसैगरी गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरमा पनि जमरा राखिएको मन्दिरका मूलपुजारी इन्सान थापाले जानकारी दिनुभयो ।

मनकामना मन्दिरमा मकै र जौको छुट्टाछुट्टै जमरा राखिएको उहाँले बताउनुभयो । परम्परा अनुसार विगतदेखि नै छुट्टाछुट्टै जमरा राख्नु पर्ने भएका कारण नित्य पूजा गरी जमरा राखिएको मूलपुजारी थापाले जानकारी दिनुभयो । गणेश र कलश स्थापना गरेर दुवै ठाउँमा जमरा राखिएको उहाँको भनाइ थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button