पाेखरा महानगरकाे अनुगमन जारी

पाेखरा महानगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएकाे छ । नेपालीहरुको ठुलो चाडपर्व नजिकिँदै जाँदा बजार अनुगमन तीव्र पारेकाे हाे ।

पाेखरा महानगरपालिकाकाे उपभोक्ता हित संरक्षण समितिले एक सातादेखि बजार अनुगमन गरिरहेकाे छ । पाेखराका मुख्य बजार क्षेत्रका पसलहरुमा अनुगमन गरिएको महानगर उपप्रमुख एवम् उपभोक्ता हित संरक्षणमा संयाेजक मञ्जुदेवी गुरुङले जानकारी दिनुभयाे । अनुगमन अन्तर्गत आज मंगलबार पाेखरा २५ हेम्जाकाे मिलनचाेकका छ वटा खाद्य पसलमा अनुगमन गरेकाे छ ।

अनुगमनमा मुल्यसुचि नभएकाे, पसल दर्ता र दर्ता भएका पसल नवीकरण नभएका तथा म्याद नाघेका खाद्य सामग्री फेला परेकाे अनुगमनमा सहभागी महानगरका सहायक पाँचौ ऋषिराम सापकाेटाले जानकारी दिनुभयाे । अनुगमनमा छ पसलका सञ्चालकलाई सम्पूर्ण कागजपत्र सहित बुधबार जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन तारिख दिइएको सापकोटाले जानकारी दिनुभयाे ।

अनुगमनमा एकराज किराना पसलबाट म्याद नाघेका ३२४०, अधिकारी टेडसबाट ९६५, बैजनि किराना पसलबाट ५०० काे म्याद नाघेका खाद्य सामग्री नष्ट गरिएकाे छ । त्यस्तै शुभकार्य मसला तथा झिलिङ्गा उद्योग, सन्देश किराना पसल, घामपानी सुपर मार्केटमा जाेख्ने सामग्रीकाे दर्ता नगरेकाे, पसल नवीकरण नगरेकाे पाइएकाले नवीकरण गर्न र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको पाेखरा २५ का वडा अध्यक्ष माेतिलाल तिम्सिनाले जानकारी दिनुभयाे ।

उहाँले जनस्वास्थ्यलाई ख्याल गरेर व्यवसाय सञ्चालन गर्न समेत आग्रह गर्नुभएकाे छ । अनुगमनमा जिल्ला प्रशासन कार्यालय कास्की, गुणस्तर तथा नापतौल कार्यालय, वडाका जनप्रतिनिधि र उपभोक्ता मञ्च र पत्रकारकाे सहभागिता रहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button