बेनी-जोमसोम सडकमा काभ्रेभीरको पीरैपीर

कालीगण्डकी करिडोरअन्तर्गतको बेनी-जोमसोम सडकखण्डको काभ्रेभीर यस क्षेत्रका लागि समस्या बन्ने गरेको छ । साँघुरो सडकको माथि र तल दुवैतर्फ सामान्य पानी पर्दासमेत पहिरो जाने र बाटो हिलो भएर सवारीसाधन चल्नै नसक्ने हुँदा हप्तैपिच्छे सो सडकखण्ड अवरुद्ध हुने गरेको छ ।

बर्सेनि पहिरो र नदी कटानका कारण निर्माणाधीन बेनी–जोमसोम सडक निकै सास्तीमय हुने गरेको सो सडक खण्ड भएर नियमितरुपमा जोमसोम–बेनी गरिरहने व्यवसायी कृष्ण शर्मा सापकोटाले बताउनुभयो । हिउँद याममा स्तरोन्नति गरिएको सडक बर्खायाममा बिग्रँदा आयोजना सम्पन्न हुनेमा चुनौती थपिएको छ ।

उक्त सडकअन्तर्गत म्याग्दीको गलेश्वर, बेगखोला, बैसरी, तातोपानी, दाना, रुप्से र काभ्रेभीर लगायतका सडकमा वर्षाले दुःख दिने गरेको छ । बर्खायामको लगातार वर्षाले सडक हिलाम्मे हुने, पहिरो जाने र सडकका संरचना भासिने गरेको दानाका पर्यटन तथा होटल व्यवसायी इन्द्रमान शेरचनले बताउनुभयो ।

गत असारदेखिको वर्षाले सडक संरचनामा क्षति पुगेको छ भने सडकको अवस्था दयनीय बनेको छ । यहाँ सामान्य वर्षा हुनासाथ ढुङ्गा, माटो र लेदोसहितको पहिरो खस्नुका साथै बाटो बगाउने र हिलो हुने समस्याले कतिबेला दुर्घटना हुने हो भन्ने भय रहिरहने स्थानीय श्याम खत्रीले बताउनुभयो । सडकखण्ड अन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ रुप्से छहरा, काभ्रेभीर, बाँदरजुङ्गे भीरमा सडकको अवस्था अत्यन्त दयनीय र डरलाग्दो रहेको अन्नपूर्ण गाउँपालिका– ६ का कृष्ण बरुवालले बताउनुभयो ।

वर्षाका कारण ढुङ्गा र माटोसहितको लेदो खसिरहेकाले ठाउँठाउँमा पहिरो जाने क्रम भने अझै नरोकिएकाले यात्रु तथा सवारी साधनलाई आवश्यक सुरक्षा सावधानी अपनाएर यात्रा गर्न अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

बेनी-जोमसोम-कोरला सडक खण्डकोे विभिन्न चार ठाउँमा अहिले स्तरोन्नति तथा कालोपत्रको काम भइरहेको भए तापनि काभ्रेभीर भौगोलिक रुपमा नै अत्यन्त कमजोर र बढी जोखिमयुक्त रहेको स्थानीयवासी खड्क खत्रीले बताउनुभयो ।

पहिराले काभ्रेमा करिब १५ मिटर सडक भासिएको, स्थानीयवासीको खेतीयोग्य जमिन बगेको र १५ घर जोखिममा परेका उहाँको भनाइ रहेको छ । बेनी-जोमसोम खण्डमा चार–पाँच ठाउँ अत्यन्त जोखिमयुक्त छ । बेनी-जोमसोम-कोरला आयोजनाले बेनी-जोमसोम (७६ किमि) र जोमसोम–कोरला (११० किमि) लाई दुई खण्डमा बाँडेर स्तरोन्नति गर्दैछ । त्यसअनुसार बेनी-जोमसोम खण्डमा दोहोरो सवारी चल्ने गरी कालोपत्र हुनेछ भने जोमसोम-कोरला खण्डको स्तरोन्नति भइरहेको छ ।

सडक क्षतविक्षत भएपछि मुक्तिनाथ दर्शन गर्न पुगेका तीर्थयात्रीसहित पर्यटक अप्ठेरोमा परेका छन् । सडक खण्ड अन्तर्गत तातोपानीको पोखरी, नागढुङ्गा, दानाको गुइँठे, काभ्रेभीर, मुस्ताङको थासाङ् गाउँपालिका–४ घाँसा, सिर्कु, मार्फाको स्याउबारी आसपासमा कालीगण्डकी नदीले व्यापक कटान गरेको छ ।

लगातारको वर्षा, भिरालो जमिन, भूमिगत पानी, कमजोर भूवनोट र कालीगण्डकी नदीको कटानले सडक छियाछिया परेको छ भने मोटरेबल पुलसमेत जोखिममा छन् । उत्तरी म्याग्दी हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने एकमात्र राजमार्गको आधादर्जन ठाउँमा तल र माथिबाट खसेको पहिरोले भदौको पहिलो सातादेखि नै सडक नियमित सञ्चालन हुन सकेको छैन ।

भारी वर्षापछिको बाढीपहिरोले म्याग्दी र मुस्ताङमा थुप्रै स्थान चर्किएको र भासिएको छ । बेनी-जोमसोम-कोरला सडक खण्डमा करिब पाँच अर्बको लगानीमा सडकको स्तरोन्नतिका काम भइरहेको छ । रु दुई अर्ब ४० करोड लागतको तल्लो खण्डमा विस्तार र कालोपत्र गर्ने र दुई अर्ब ६० करोडको लागतमा माथिल्लो खण्डको स्तरोन्नति हुने सडक आयोजनाले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button